सुमोको इन्धन भर्ने ट्यांकीभित्र लुकाएर लागुऔषध तस्करी

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

टाटा सुमोको इन्धन राख्ने ट्यांकीभित्र ‘फल्स बटम’ बनाई लागुऔषध तस्कर हुने गरेको खुलेको छ। भारतीय नम्बर प्लेट बिआर ०६ पिए २०९० नम्बरको सुमोमा लागुऔषध बरामद भएपछि यो तथ्य खुलेको हो। 

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएकाे प्रहरी टोलीले शनिबार बल्खुबाट उक्त सुमो नियन्त्रणमा लिएको थियो। सुमो भारत बिहार मोतिहारीका ३७ वर्षीय वीरबल महतोले चलाएर काठमाडौं ल्याएका थिए।

शंकास्पद देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीले उनीसँग लागुऔषध तस्करीबारे सोधपुछ गरेको थियो। तर, उनले इन्कार गरेका थिए।

प्रहरीले जब सुमाको इन्धन राख्ने ट्यांकी खोल्यो, त्यसपछि उनी गलेका थिए। किनकि प्रहरीले ट्यांकीभित्र बनाइएको फल्ट बटममा नाै हजार ३० चक्की नाइट्रोभेट र एक हजार सात सय ८९ एम्पुल डाइजपाम-बु्रप्रिनफिन-फेनारगन बरामद गरेको थियो। 

ब्युरोका सहप्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले सुमोको इन्भन भर्ने ट्यांकीभित्र लुकाई लागुऔषध तस्कर हुने गरेको पहिलोपटक भेटिएको बताए। उनले भने, ‘सुमोको इन्धन भर्ने ट्यांकीभित्र फल्स बटम बनाई लागुऔषध तस्करी हुने गरेको भेटियो। यस्तो घटना यसअघि फेला परेको थिएन। पेट्रोलियम पदार्थ ढु्वानी गर्ने टेंकरभित्र चरेस तस्कर हुने गरेको भेटिएको थियो। तर, ट्यांकीभित्र फल्स बटम बनाई लागुऔषध तस्कर हुने गरेको भने भेटिएको थिएन।’ 

प्रहरीका अनुसार महतोले यसअघि पनि सोही तवरले पटक–पटक लागुऔषध तस्कर गर्ने गरेका थिए। त्यसो हुँदा उनी बिहार–काठमाडौं लागुऔषध तस्कर गर्ने र्‍याकेटमध्येका मुख्य सदस्य रहेको अनुसन्धानबाट खुलेको छ। 
डिएसपी शाहीले भने, ‘यसले सोही तरिका अपनाई यसअघि पनि लागुऔषध तस्कर गर्ने गरेको देखिन्छ। बिहारबाट काठमाडौंसम्म लागुऔषध तस्कर गर्ने गिरोहको यो मुख्य सदस्य रहेको देखिन्छ। यसलाई अपरेट गर्ने भने बिहारमै बस्छ। उसलाई पक्राउ गर्न सकिएको छैन।’

यसअघि ब्युरोले बौद्ध नयाँबस्तीबाट २९ वर्षीय विजय परियारलाई पक्राउ गरेको थियो। परियार बिहारबाट तस्कर भई आएको लागुऔषध वितरण गर्ने र्‍याकेटका अर्का मुख्य सदस्य हुन्। उनको साथबाट प्रहरीले पाँच हजार दुई सय ५० ट्याब्लेट नाइट्रोभेट बरामद गरेको थियो। उनकै सूचनाका आधारमा प्रहरीले महतोलाई पक्राउ गरेको हो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

सुझावित समाचार