भारतको पश्चिम बंगाल राज्यको काेलकातामा गत अगस्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुर्व्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकले ‘आरजी कर मेडिकल कलेज एन्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् ।
चिकित्सकको यो आन्दोलनको प्रभाव देशका अन्य स्थानहरूमा पनि परेको छ। चिकित्सकहरूले तेलंगना, तमिलनाडु, उत्तर प्रदेश र मुम्बईलगायतका देशका धेरै सहरहरूमा विरोध प्रदर्शन गरेका छन्। काेलकाता उच्च न्यायालयको आदेशपछि यो मुद्दा राज्य प्रहरीबाट केन्द्रीय अनुसन्धान ब्युरोमा स्थानान्तरण गरिएको छ।
काेलकाताको आरजी कर मेडिकल कलेजमा ड्युटीमा रहेका वेला एक स्नातकोत्तर प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा विद्यार्थी तथा चिकित्सक आन्दोलित बनेका छन् भने चिकित्सा समुदायद्वारा देशव्यापी हडताल र विरोध प्रदर्शन गरिरहेका छन् ।
अगस्ट १४ मा आरजी कर मेडिकल कलेजमा रहेको अस्पतालपरिसरमा प्रदर्शन गर्न जम्मा भएको भिडले तोडफोड गरेको थियो भने अस्पतालको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षाकर्मीले हवाई फायर र अश्रुग्याससमेत प्रयोग गरी भिडलाई तितरबितर पारेका थिए।
कानुन र व्यवस्था कायम राख्न काेलकाता प्रहरीले आरजी कार मेडिकल कलेज र अस्पतालको वरिपरि अगस्ट १८ देखि कार्यान्वयन हुने गरी संविधानको धारा १६३ लागू गरेको छ।
जारी विरोध प्रदर्शनबिच काेलकाता प्रहरीले मेडिकल कलेज र अस्पतालको वरिपरि सात दिनका लागि भारतीय नागरिक सुरक्षा संहिता (सन् २०२३ पहिले सिआरपिसीको धारा १४४) को धारा १६३ लागू गरिएको जनाएको छ। रासस/एएएनआई