वर्तमान थाई सत्तागठबन्धनको सबैभन्दा ठूलो दलको नेताका रूपमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पुनः किङमेकर बनेका छन्, तथापि उनी बाहिर देखिएजस्तो बलियो भने छैनन्
थाइल्यान्डमा अर्का एकजना प्रधानमन्त्री अनिर्वाचित संस्थाबाट अपदस्थ गरिए । देशका रुढिवादीहरूको स्वार्थको रक्षक मानिने संवैधानिक अदालतले अर्को एउटा सरकार अपदस्थ गरेपछि दुई दशकदेखि एकपछि अर्को राजनीतिक संकटको चक्रमा फसिरहेको थाइल्यान्डमा फेरि धेरै थरी प्रश्न उठेको छ । गत बुधबार संवैधानिक अदालतको फैसलाबाट प्रधानमन्त्री श्रेथा थाभिसिनको बर्खास्ती अप्रत्याशित मात्र होइन, क्रूर पनि थियो । मुख्य न्यायाधीशले फैसलाका क्रममा श्रेथालाई नैतिकताको अभाव भएको नेताको आरोप लगाए । फैसलाका क्रममा अदालतका न्यायाधीशबीच मत विभाजन हुँदा ५–४ को मतले अन्तिम फैसला भएको थियो ।
फैसलाले श्रेथाको ११ महिनाको शासनमा पूर्णविराम लगाएको भए पनि सरकारभित्र पहिलेदेखि नै किचलो थियो, जसका कारण पटक–पटक मन्त्री हेरफेर गरिएको थियो । तथापि, गठबन्धन सदस्यबीच किचलो भए पनि बाहिर भने एकता प्रदर्शनको प्रयास निरन्तर चलेको थियो । श्रेथाको बहिर्गमनपछि फेउ थाईमा प्रधानमन्त्रीका लागि योग्य दुईजना बाँकी रहन पुगेका थिए, ७५ वर्षीय पूर्वन्यायमन्त्री चाइकासेम नितिसिरी र पार्टीका दिग्गज नेता थाक्सिन सिनावात्राकी ३७ वर्षीया छोरी पाइतोङटार्न सिनावात्रा । र, उनीहरूमध्येबाटै शुक्रबार पाइतोङटार्न नयाँ प्रधानमन्त्री चुनिईन् । तर, यस चयनमा पनि रोचकता देखियो । श्रेथाको राजीनामापछि सत्तासाझेदार दलका नेताहरूको बुधबार साँझको वैठकले चाईकासेमलाई प्रधानमन्त्री उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर, बिहीबार दिउँसोबाट चाईकासेमको ठाँउमा पाइतोङटार्नको नाम मतदानका लागि अगाडि बढाइने चर्चा चल्न सुरु हुन थाल्यो । चाइकासेमले विगतमा राजाको विरोध गर्न नपाईने कानुन सुधार गर्नुपर्ने माग गरेको र त्यसैले उनी नेतृत्वको सरकार बनेमा आगामी दिनमा अफ्ठ्यारोमा पर्ने विश्वासमा उम्मेदवार बदलिएको विश्वास गरिन्छ । यही कानुनको विरोध गर्दा देशको सबैभन्दा ठूलो दल भर्खरै भंग भएको नजिर ताजै जो थियो । चाइकासेम प्रधानमन्त्री भएको भए उनी देशको सबैभन्दा ज्येष्ठ प्रधानमन्त्री बन्ने थिए । पछिल्लो समय केही अस्वस्थ भए पनि चाइकासेमलाई थाक्सिनको हितको पक्षमा बलियोसँग उभिने नेताका रूपमा हेरिन्छ ।
वर्तमान थाई सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका नेताका रुपमा पूर्व प्रधानमन्त्री थाक्सिन पुनः किङमेकर बनेका छन् । तथापि उनी बाहिर देखिएजस्तो बलियो भने छैनन् । भ्रष्टाचारको आरोप लागेपछि १५ वर्ष स्वनिर्वासनमा रहेर गत वर्ष थाइल्यान्ड फर्केका थाक्सिन एक वर्षको जेल सजायँ भोगेर शक्तिशाली राजाबाट आममाफी पाएर अहिले स्वतन्त्र जीवन बाचिरहेका छन् । थाईल्यान्डको राजनीतिमा थाक्सिनले स्वदेश फर्किन दिन र जेलबाट छिट्टै बाहिरिन राजासँग रुढिवादी शक्तिलाई सत्ता साझेदार बनाउनुपर्ने सम्झौता गरेको चर्चा चल्ने गर्छ । कुनै समय देशको रुढिवादी तप्का थाक्सिनको चुनावी आकर्षणलाई आफ्नो शक्तिको सबैभन्दा ठूलो खतराको रूपमा हेथ्र्यो । यी दुई समूहबीचको भएको भनिएको ‘सम्भावित’ सम्झौताले देशमा उदाइरहेको नयाँ प्रगतिशील सुधारवादी शक्ति ‘मुभ फर्वार्ड पार्टी’लाई सरकारबाट बाहिर राख्न सफल भयो ।
सन् २०२३ को निर्वाचनमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको ‘मुभ फरवार्ड पार्टी’लाई सत्ताबाट बाहिर राख्न बनेको रुढिवादी दलहरूको गठबन्धनले राजनीतिमा नवप्रवेशी श्रेथालाई प्रधानमन्त्रीको रूपमा अघि सार्यो । श्रेथा उनकै दल फेउ थाईभित्र समेत प्रभाव भएका नेता होइनन् । अहिले आएर उनै समेत एक वर्षभित्रै राजनीतिक खेलाडी नठानिएका श्रेथालाई समेत नसहने गठबन्धनभित्रका सेनासँग नजिकका दलका रबैयाले थाक्सिनलाई देश फर्किन दिन गरिएको सम्भावित सम्झौताका सर्तहरू उनैविरुद्ध तेर्स्याइएको संकेत पाइन्छ । अहिलेका लागि फेउ थाई सरकारमा रहने निश्चित छ । तथापि श्रेथाको बहिर्गमनपछि प्रधानमन्त्री पदमाथि सो दलको दाबी ‘धेरै कमजोर’ बनेको राजनीतिक विश्लेषक केन लोहेटेपानोटले भने ।
अहिलेको गठबन्धनका तीनजना नेता प्रधानमन्त्रीको पदमा आखाँ गाडेर बसेको विश्वास गरिन्छ । यसमा गठबन्धनको दोस्रो ठूलो दल भूमजाइथाई पार्टीका नेता तथा निवर्तमान सरकार आन्तरिक मन्त्री अनुतिन चर्णविराकुल रुढिवादीहरूमाझ सबैभन्दा रुचाइएका पात्र मानिन्छन् । भोलीका दिनमा फेउ थाईले उठाएका उम्मेद्वारले आम सहमति हासिल गर्न सकनेनन् भने अनुटिनलाई प्रधानमन्त्री रूपमा अघि सारिने सम्भावना प्रबल छ । त्यस्तै, ८० वर्षीय पूर्वसेनापति प्रवीत वोङ्सुवोनप्रति समर्थन कम भए पनि उनी पूर्वसत्तारूढ दल पलांग प्रचरार्थका सम्भावित प्रधानमन्त्री उम्मेदवार हुन् । उनैले नियुक्त गरेका चालीस सिनेटरहरूले दिएको कानुनी उजुरीका कारण श्रेथा बर्खास्त भएका हुन् । त्यस्तै सन् २०१४ को कुमा प्रवीतलाई साथ दिएका त्यस समयका दोस्रो नम्बर सैन्य जनरल र पछि एक दशकसम्मका सरकार प्रमुख प्रयुथ चान–ओचाको सम्भावना पनि उच्च छ । हाल उनलाई राजालाई सल्लाह दिने परिषद्मा बढुवा गरिएको भए पनि उनी पनि प्रधानमन्त्रीकी दाबेदार हुन् ।
विजेता र हरूवा : थाइल्यान्डमा दुई दशकदेखि एक राजनीतिक संघर्ष चलिरहेको छ । त्यसमा एकातर्फ छन्, उग्र राजावादी एलिट, जसलाई हस्तक्षेपवादी अदालत, अभिजात वर्ग र रुढिवादीहरूको हित सुरक्षित गर्न कुका लागि हरदम तयार सेनाको समर्थन छ । अर्कोतर्फ छन्, लोकतान्त्रिक सुधार पक्षधर दल । संघर्षमा अहिले रुढिवादी पक्ष विजयी देखिएको छ । गत वर्ष मे महिनामा सम्पन्न निर्वाचनमा रुढिवादी दलहरूले ठूलो संख्यामा सिट गुमाए । नयाँ दल मुभ फरवार्डले सबैभन्दा बढी सिट र लोकप्रिय मत हासिल गर्यो । तर पनि अदालत तथा सेनाले बनाएको संविधान प्रयोग गरेर रुढिवादी दलका सत्ताका दलालहरू नै सरकार र प्रधानमन्त्रीको कार्यालयको एकदम नजिक पुगेका छन् ।
अघिल्लो साता संवैधानिक अदालतले युवाहरूको व्यापक समर्थन रहेको सुधारवादी पार्टी मुभ फरवार्डलाई विघटन गरिदियो । श्रेथा दुई दशकको अवधिमा थाई अदालतबाट बर्खास्त गरिएका सिनावात्राको दलका चौथो प्रधानमन्त्री बनेका छन् । थाक्सिनसँग भएको विश्वास गरिएको कुनै पनि सम्झौताको नतिजा जे भए पनि रुढिवादीहरूले फेउ थाईलाई तिनको स्वार्थअनुरूप चलाउन सक्ने क्षमता प्रदर्शन गरेका छन् । रुढिवादीहरूले मञ्चन गरेको पछिल्लो ‘सफ्ट कु’को मुख्य पीडित सामान्य थाई नागरिक हुनेछन्, विशेषगरी मुभ फरवार्डलाई मत हालेका करोडौं मतदाता र विश्वव्यापी आर्थिक मन्दीबीच आर्थिक पुनरुत्थानको चाहना राखिरहेका मतदाता ।
जोन्स साउथ चाइना मर्निङ पोस्टका एसिया डेस्कमा वरिष्ठ संवाददाता हुन् । साउथ चाइना मर्निङ पोस्टबाट