रामेछापमा चोरी गर्दै हिँड्ने तीनजना पक्राउ

शनिबार, १ भदौ, २०८१
डिजिटल संस्करण

विभिन्न गाउँमा चोरी गर्दै हिँड्ने तीनजनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले सामान र नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको ब्रम्हपुरी नगरपालिका–६ का अन्दाजी वर्ष ४० की कुसुमकुमारी, सोही ठाउँकी वर्ष १९ की सुनिता कुमारी र भारत बिहार घर भएका वर्ष ३२ का तपेश्वर महतो रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए। 

उनका अनुसार चोरीमा संलग्न तीनजनाले मन्थली नगरपालिका–४ सालुको सामलथानस्थित सोमबहादुर खत्रीको घरबाट ओप्पो कम्पनीको मोबाइल र घरमा रहेको केही नगदसमेत चोरी गरेका थिए। खत्रीले आफ्नो घरमा चोरी भएको भन्दै प्रहरीमा उजुरी गरेका थिए। सोही उजुरीको आधार तत्काल प्रहरीले खोजतलासमा जुटेको थियो। प्रहरीले शंकास्पद रूपमा हिँड्दै गरेका तीनजनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट चोरीको सामान बरामद भएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका तीनैजनालाई डाँका चोरी मुद्दामा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरी जिल्ला अदालत रामेछापबाट शुक्रबार ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि सूचना अधिकारी न्यौपानेले जानकारी दिए। पछिल्ला केही महिनायता रामेछापका विभिन्न स्थानहरूमा चोरीका घटनाहरू दैनिकजसो भइरहेका छन्। चोरीका घटना बढ्दै जाँदा स्थानीय नागरिक त्रसित बन्दै आएका छन्। 

See More On

सुझावित समाचार