सिराहाको लहान नगरपालिका- २० मा अवैध ढंगले सञ्चालन गरिरहेको भन्दै डिभिजन वन कार्यालय लहानको टोलीले समिल सिल गरेको छ।
लहानस्थित डिभिजन वन कार्यालय र सबडिभिजन वनको संयुक्त गस्ती टोलीले लहान २० ब्रम्हाण गाउँमा सञ्चालित समिल शुक्रबार साँझ सिल गर्नुका साथै अवैध ढंगले ओसारपसार गरी ल्याएका विभिन्न प्रजातिका दुई ट्याक्टर चिरान तथा गोलिया काठ बरामद गरेको डिभिजन प्रमुख सुजितकुमार झाले जानकारी दिए। उनका अनुसार बरामद गरिएको चिरान तथा गोलिया काठ डिभिजन वनमा ल्याइएको छ।
फरेस्टरद्वय रामसरोज राय, सन्तोषकुमार यादव, एएफजी जिल्ला कमान्डर ब्रह्मदेव यादव, एफएजी लहान कमान्डर रामचन्द्र चौधरीलगायतका वन कर्मचारीहरूको टोलीले समिल सिल गरी काठ बरामद गरेको हो। त्यसको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको वनले मिल सञ्चालकको विषयमा भने केही खुलाएको छैन।