पहिलो संस्करणको एभरेस्ट महिला भलिबल फ्रेन्चाइज लिगमा सहभागी ६ टोलीका खेलाडी र प्रशिक्षकहरूको नाम सार्वजनिक भएको छ । ड्रिम्स प्रालिले शुक्रबार लिगमा सहभागी सबै खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेकोे हो । गत साता आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले मार्की खेलाडीको नाम घोाषणा गरेको छ । नेपालका विभिन्न सहरअनुसार ६ फ्रेन्चाइज टोलीमा राष्ट्रिय महिला भलिबल खेलाडीको बहुलता रहेको छ । नेपालकै अनुभवी प्रशिक्षकसमेतले टोली हेर्ने भएका छन् । राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगदीश भट्टले काठमाडौं सम्हाल्नेछन् ।

नेपालमा राम्रा महिला भलिबल खेलाडी उत्पादन गर्नमा ठूलो योगदान पुर्याएका कुमार राईले कर्णाली हेर्ने भएका छन् । यसैगरी, भरत यादवले मधेश तथा उत्सव खड्का ललितपुरका प्रशिक्षकका रूपमा हुनेछन् । यी दुवै प्रशिक्षक स्थानीय हुन् । चितवनमा अर्जुन घिमिरे प्रशिक्षक बनेका छन् ।
आयोजक ड्रिम्स प्रालिले राष्ट्रिय टोलीका खेलाडीलाई सहभागी टोलीका मार्की खेलाडी बनाएको छ । राष्ट्रिय टोलीका कप्तानसमेत रहेकी अरुणा शाही चितवन, सरस्वती चौधरी गण्डकी तथा सलिना श्रेष्ठ ललितपुरमा मार्की खेलाडीका रूपमा रहनेछन् । यसैगरी, मधेशमा निरुता ठगुन्ना, कर्णालीमा सुमित्रा रेग्मी तथा काठमाडौंमा उषा भण्डारी मार्की खेलाडी बनेका छन् ।
लिगमा आबद्ध खेलाडीलाई वर्गीकरणअनुसार पारिश्रमिक घोषणासमेत आयोजक ड्रिम्स प्रालिले गरेको छ । ‘ए’ श्रेणी खेलाडीले एक लाख ५० हजार, ‘बी’ श्रेणी खेलाडीले एक लाख र ‘सी’ श्रेणीको वर्गीकरणमा रहेका खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।
पहिलो संस्करणको एभरेस्ट लिगमा आबद्ध प्रत्येक टोलीमा १२ खेलाडी हुनेछन् । टोलीमा अनिवार्य रूपमा नौ नेपाली र तीन विदेशी खेलाडी हुनुपर्नेछ । यसका साथै प्रत्येक टोलीले एक खेलाडी स्थानीयस्तरबाट ट्यालेन्ट हन्टबाट राख्नुपर्नेछ ।
एक टिममा तीन विदेशी खेलाडी
फ्रेन्चाइज आयोजक ड्रिम्स प्रालिले सहभागी ६ टोलीलाई समान तीन विदेशी खेलाडी अनुबन्ध गर्न स्वीकृत दिएको छ । सोहीअनुसार टोलीहरूले मार्की खेलाडीसँगको समझदारीमा विदेशी खेलाडी ल्याउने प्रक्रिया अगाडि बढाएका छन् । कर्णालीकी मार्की सुमित्रा रेग्मी भन्छिन्, ‘विदेशी खेलाडी कुन देशको र कस्तो ल्याउने सल्लाह भएको छ । चाँडै विदेशी खेलाडीबारे घोषणा हुन्छ ।’
काभा उपविजेता टोलीलाई सरकारले जनही तीन लाख नगदसहित पुरस्कृत गर्ने
काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टोलीका १४ खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने निर्णय भएको हो । यसैगरी, प्रशिक्षकलाई दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत सरकारले गरेको निर्णय जानकारी गराएका हुन् । गत साता काठमाडौंमा भएको काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको थियो । गुनासो छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को गत शुक्रबार बसेको कार्यकारी समितिको बैठकले युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई नगद पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रतिभाविनाको लिग
१३ वर्षमै राष्ट्रिय टोलीमा डेब्यु गरेर सनसनी मच्चाएकी स्पाइकर प्रतिभा माली फ्रेन्चाइज लिगमा देखिनेछैनन् । खुट्टाको चोटका कारण उनी प्रतियोगितामा नहुन भएकी हुन् ।
आयोजक ड्रिम्स प्रालिले सहभागी ६ टोलीका खेलाडीको नाम सार्वजनिक गर्दा प्रतिभालाई कुनै पनि फ्रेन्चाइज टोलीले समावेश गरेनन् । शल्यक्रियापछि उनी रिकभरीको तयारीमा छिन् ।
नेपालले काभा नेसन्स महिला लिगमा लगातार दुईपटक च्याम्पियन हुँदा उनले महत्वपूर्ण योगदान दिएकी थिइन् । डेढ साताअगाडि काठमाडौंमा भएको चौथो संस्करणको काभा च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा उनले दर्शकदीर्घामा बसेर खेल हेरेकी थिइन् । काभा नेसन्स लिगको पछिल्ला दुई संस्करण खेल्दा दुवैपटक उनी टिमबाट बाहिरिइन् ।