म्याच कमिस्नर गफरले शुक्रबार दशरथ रंगशालाको मैदान निरीक्षण गर्दै तत्काल साफ यू–२० च्याम्पियनसिपका खेल गराउन नमिल्ने रिपोर्ट साफलाई बुझाएको छ
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पठाएका म्याच कमिस्नर अब्दुल हमिद अब्दुल गफरले नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ यू–२० च्याम्पियनसिपअन्तर्गत समूह चरणका खेल गराउन नमिल्ने बताएका छन् । रंगशाला मैदानको अवस्था बुझ्न उनी बिहीबार राति काठमाडौं आएका थिए । उनले शुक्रबार बिहान मैदानको निरीक्षण गरेका थिए ।
माल्दिभ्सका गफरले मैदानको गुणस्तर राम्रो नभएको र तत्काल यहाँ खेल खेलाउन नमिल्ने रिपोर्ट साफलाई दिएको एन्फा स्रोतले नयाँ पत्रिकालाई जानकारी दिएको छ । ‘माल्दिभ्सबाट आउनुभएका म्याच कमिस्नर गफरले शुक्रबार बिहान रंगशालाको निरीक्षण गर्नुभएको थियो, उहाँले यस मैदानमा साफ यू–२० च्याम्पियनसिपका समूह चरण खेल गराउन नमिल्ने बताउनुभएको छ,’ एन्फा स्रोतले भन्यो, ‘उहाँले साफलाई पठाएको प्रतिवेदनमा यस्तै उल्लेख गर्नुभएको छ ।’
मैदानको अवस्था राम्रो हुँदा साफको सेमिफाइनल र फाइनल खेल हुन सक्ने स्रोतको भनाइ छ । तर, त्यहाँका लागि पुनः एकपटक मैदानको निरीक्षण हुनेछ । रंगशालामा खेल्न योग्य नहुँदासम्म आयोजक एन्फाले यू–२० च्याम्पियनसिपका समूह चरणका खेल खेल्न सातदोबाटोस्थित एम्फ कम्प्लेक्समा सारेको छ ।
वैकल्पिक मैदानमा खेल
म्याच कमिस्नर गफरले रंगशालाको मैदान निरीक्षण गर्नुअघि नै एन्फाका प्रवक्ता सुरेश शाहले प्रतियोगिताको सेमिफाइनल र फाइनलबाहेकका खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने बताइसकेका थिए । साफकै आग्रहमा एन्फाले वैकल्पिक मैदानका रूपमा एन्फा कम्प्लेक्सलाई रोजेको हो । तर, एन्फा म्याच कमिस्नरको अन्तिम रिपोर्टको प्रतीक्षामा थियो । ‘रिपोर्टमा रंगशालामा तत्काल खेल खेलाउन योग्य नभएको उल्लेख भएपछि हामीले वैकल्पिक मैदानका रूपमा एन्फा कम्प्लेक्सलाई छानेका हौँ,’ एन्फा स्रोतले भन्यो, ‘साफले एन्फा कम्प्लेक्समा सार्न अनुमति दिएको छ । अब खेल एन्फा कम्प्लेक्सको टर्फमा हुनेछ ।’ एन्फाले दशरथ रंगशालामा खेल आयोजना गर्न नसक्दा दर्शकसँग माफी मागेको छ । ‘तत्काल हामीले रंगशालामा साफ यू–२० आयोजना गर्न सकेनौँ । सबै समर्थक तथा दर्शकसँग हामी माफी माग्छौँ,’ एन्फाले सोसल मिडियामा भनेको छ, ‘हामी अन्तिम समयसम्म पनि सेमिफाइनल र फाइनल खेल रंगशालामै खेलाउने प्रयासमा छौँ ।’
यसै मैदानमा नेपालले सन् २०१५ मा एन्फा मैदानमा साफ यू–१९ आयोजना हुँदा नेपाली टोली च्याम्पियन बनेको थियो । दशरथ रंगशालामा गत मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीचको एएफसी च्यालेन्ज लिगको प्ले अफ भएको थियो । पारो एफसीले २–१ ले बाजी मारेको मैदानको खराब अवस्थाका कारण एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को व्यापक आलोचना भइरहेको छ ।
खेलतालिका परिवर्तन
दशरथ रंगशालामा खेल आयोजना गर्न नमिल्ने भएपछि आयोजक एन्फाले यू–२० साफ च्याम्पियनसिपको खेलतालिका परिवर्तन गरेको छ । दशरथ रंगशालामा चार बजेबाट सुरु हुने खेलतालिका अब एन्फा कम्प्लेक्समा सबै खेल तीन बजेबाट हुनेछन् । नेपालले श्रीलंकासँग दिउँसो तीन बजे एन्फा कम्प्लेक्समा उद्घाटन खेलमा सामना गर्नेछ । नेपाल र श्रीलंका रहेको समूह ‘ए’मा बंगलादेशसमेत छ । अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान रहेका छन् । १० दिन चल्ने प्रतियोगिताका लागि एन्फाले २३ सदस्यीय युवा टोलीको घोषणा गरिसकेको छ ।