थामे बाढीमा परेर एक बेपत्ता, विद्यालय र क्लिनिकसहित १२ संरचना नष्ट (अपडेट)

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण
थामे बाढीमा परेर एक बेपत्ता, विद्यालय र क्लिनिकसहित १२ संरचना नष्ट (अपडेट)

तस्बिर साैजन्य : नेपाल प्रहरी ।

थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामेमा एक विद्यालयसहित ११ घर र होटेलमा पूर्ण रूपमा क्षति पुगेको छ। एक क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

क्षतिग्रस्त संरचनामध्ये एक विद्यालय, एक क्लिनिक, पाँच होटेल र सात घर छन्। अन्य सात घर जोखिममा रहेका छन्। एक्कासि बाढी बस्तीमा पस्दा एकजना हराइरहेका छन्।

प्रहरीले थामे खोलामा पानीको बहाव एक्कासि बढेर क्षति पुगेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली परिचालित भएको जनाएको छ। थामे खोलामा एक्कासि पानीको बहाव किन बढ्यो भन्ने खुलेको छैन। 

प्रहरीले पानीको बहाव घट्दै गए पनि कटानको कारण माथिल्लो तटीय क्षेत्रमा जोखिम रहेको र तल्लो तटीय क्षेत्रमा कटानको कारण सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका– ६ बोदेबहर बलेखास्थित पाँच घरका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको जनाएको छ। यद्यपि, दुधकोशी नदीको तल्लो तटीय क्षेत्र भने खतरामुक्त रहेको स्थानीय प्रशासनले जनाएको छ। 

सुझावित समाचार