साफ यू–२० च्याम्पियनसिप अब एन्फा कम्प्लेक्समा

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण
साफ यू–२० च्याम्पियनसिप अब एन्फा कम्प्लेक्समा

सातदोबाटोको एन्फा कम्प्लेम्स मैदान । फाइल तस्बिर

हिलाम्मे दशरथ रंगशालामा प्राविधिक रूपमै खेल खेलाउने अवस्था नभएपछि एन्फाले वैकल्पिक खेल मैदानका रूपमा सातदोबाटोस्थित एन्फा कम्प्लेम्सलाई रोजेको छ 

नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको मैदान कमजोर अवस्थाका कारण आगामी आइतबारदेखि सुरु हुने साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अब सातदोबाटोको एन्फा कम्प्लेक्समा हुने भएको छ । निरन्तर वर्षा भइरहँदा प्राविधिक रूपमै रंगशालामा साफ यू–२० च्याम्पियनसिप खेलाउने अवस्था नहुँदा आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले वैकल्पिक खेल मैदानका रूपमा सातदोबाटोको एन्फा कम्प्लेक्समा सारेको हो । 

एएफसी च्यालेन्ज लिगको प्ले अफमा चर्च ब्वाइज र भुटानको पारोका खेलाडीले हिलाम्मे मैदानमा प्रतिस्पर्धा गरेका थिए । राखेपले चार महिना लगाएर बनाएको रंगशाला एकै खेलमा हिलाम्मे बन्यो । मैदान हिलाम्मे भएपछि सर्वत्र आलोचना भइरहेको छ । साफ यू–२० च्याम्पियनसिपको मुख्य रंगशालाको निरीक्षण गर्न एएफसीका म्याच कमिसनर बिहीबार राति नेपाल आएका छन् । यद्यपि, पूर्वनिर्धारित कार्यक्रमअनुसार उनीहरूले बिहीबार दिउँसो चार बजे रंगशालाको निरीक्षण गर्ने भनिएको थियो । म्याच कमिसनरले शुक्रबार मात्र रंगशालाको अवस्था बुझ्नेछन् । 

उनीहरूको रिपोर्ट आएपछि मात्र मैदानमा प्रतिस्पर्धा गराउन मिल्ने वा नमिल्ने निश्चित हुनेछ । रिपोर्ट आउँदासम्म प्रतियोगिता सुरु भइसक्नेछ । चर्च ब्वाइज र पारोबीचको प्रतिस्पर्धापछि दक्षिण एसियाली फुटबल महासंघले रंगशालाको अवस्थाअनुसार एन्फालाई वैकल्पिक मैदान रोज्न निर्देशन दिएको थियो । एन्फाले पनि रंगशालाको मैदान तत्काल सुधार नहुने देखेपछि एन्फा कम्प्लेक्सलाई रोजेको हो । ‘महासंघले हामीलाई अर्को मैदान हेर्नू भनेको थियो । हामी एन्फा कम्प्लेक्ससँगै जोडिएको मैदानमा यू–२० साफ च्याम्पियनसिप खेलाउने पक्षमा छौँ,’ साफको तयारीबारे जानकारी दिँदै एन्फाका प्रवक्ता सुरेश शाहले भने, ‘सम्भवतः हामी रंगशालामा सेमिफाइनल र फाइनल खेलाउने प्रयास गछौँ ।’ 

रंगशालाको सम्बन्धमा आधिकारिक निर्णय भइनसकेको उनले जनाए । ‘हामीले दशरथ रंगशालामा हुन्छ कि हुँदैन भनेका छैनौँ । आधिकारिक निर्णय भएको छैन । म्याच कमिसनर आएर हेरेपछि मात्र हुने वा नहुने प्रस्ट हुन्छ,’ शाहले भने । साफ यू–२० च्याम्पियनसिपमा आयोजक नेपालसहित बंगलादेश, भुटान, भारत, मालदिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्देछन् । समूह ‘ए’मा नेपालसँगै बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । नेपालले आइतबार श्रीलंकाविरुद्ध उद्घाटन खेल खेल्नेछ । 

रंगशालाको स्वामित्व लिने दाउमा एन्फा
गत चैतदेखि राखेपले दशरथ रंगशालाको रेखदेख तथा मर्मत गर्ने अधिकार एन्फाबाट खोसेको थियो । २६७ दिनपछि रंगशालामा अन्तर्राष्ट्रिय खेल हुँदा मैदान हिलाम्मे बन्यो । अब मैदान पुनः आफ्नो स्वामित्व लिँदै यसको स्तरोन्नति गर्ने एन्फाका उपाध्यक्ष दीपक खतिवडाले जनाए । ‘राखेपले मैदान खोस्दा हामीले तयारी गर्न पाएनौँ । प्रधानमन्त्रीज्यूलाई भनेर रंगशालाको स्वामित्व एन्फामै फर्काउनेछौँ,’ खतिवडाले भने, ‘हामी जसरी पनि स्वामित्व लिन्छौँ ।’ उनले रंगशालामै केही महिनापछि हुने रग्बी प्रतियोगिता नगराउने दाबी गरे । 

‘अब हामी यहाँ रग्बीलगायत कार्यक्रम गराउन दिँदैनौँ । यसका लागि प्रधामन्त्रीसम्म पुग्छौँ । यहाँ फुटबल मात्र हुन्छ,’ उनले भने । राखेपका सदस्यसचिव घिसिङले साफ महिला रग्बी प्रतियोगिता आयोजनाको अनुमति दिइसकेका छन् । उनी रग्बीका पूर्वअध्यक्षसमेत हुन् । एन्फाले राखेपलाई रंगशाला प्रयोग गरेबापत भाडा नतिर्ने उनले बताए । ‘राखेपले रंगशाला प्रयोग गरेबापत दैनिक एक लाख माग गरेको छ । रंगशालाको मर्मतका लागि रकम दिन तयार छौँ । तर, दैनिक भाडा तिर्न सक्दैनौँ,’ उनले भने ।

नयाँ रंगशालाको खोजी
सरकारले जग्गा उपलब्ध गराए एन्फाले अन्तर्राष्ट्रियस्तरको रंगशाला आफैँ बनाउने जनाएको छ । ‘हामीलाई सरकारले रंगशाला बनाउन जग्गा उपलब्ध गरायो भने दुई वर्षभित्र नयाँ रंगशाला बन्नेछ,’ प्रवक्ता शाहले भने । यद्यपि, १५ वर्षदेखि एन्फा दशरथ रंगशालाको विकल्पका रूपमा नयाँ रंगशाला बनाउने योजनामा छ । 

तर, एन्फा जग्गाको खोजीमै छ । नेपालमा नयाँ रंगशाला निर्माणका लागि फिफासँग पनि छलफल भइरहेको शाहले बताए । ‘हामीले नयाँ रंगशाला निर्माणका लागि फिफासँग छलफल गरिरहेका छौँ । यस विषयमा फिफा सकारात्मक छ,’ उनले भने । उनका अनुसार गोदावरीलगायत स्थानमा एन्फाले जग्गा हेरिरहेको छ । 

छलफलमा जुटे राखेप र एन्फा
रंगशालाको स्तरोन्नतिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले छलफल गरेका छन् । मैदान स्तरोन्नतिका लागि लाग्ने समय, बजेटलगायतका विषयमा दुई पक्षबीच राखेपमा प्रारम्भिक छलफल भएको हो । राखेपका सदस्यसचिव घिसिङले मैदानको स्तरोन्नति गर्न लाग्ने समय सीमा, बजेटलगायत विषयमा एन्फा अध्यक्षसँग चासो राखेका थिए । रंगशालाको स्तरोन्नति गराउने कार्यका लागि दुवै पक्ष गम्भीर भएर अगाडि बढ्नुपर्ने घिसिङले बताएका छन् । ‘दशरथ रंगशालाको मैदान स्तरोन्नति गर्न कति समय र बजेट लाग्छ ? प्रारम्भिक खाका तयार गरी पेस गर्नुहोला,’ एन्फा अध्यक्ष नेम्बाङलाई निर्देशन दिँदै घिसिङले भने, ‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नुहोला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतिका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनुहुँदैन ।’ अध्यक्ष नेम्बाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नति गर्ने सदस्यसचिव घिसिङसामु प्रतिबद्धता जनाएका छन् । 

सुझावित समाचार