बागलुङका नेवार समुदाय परम्परागत रूपमा नाचिँदै आएको लाखेनाचकाे संरक्षणमा जुटेका छन्। घण्टाकर्ण अर्थात् गोठेमंगलको भोलिपल्टबाट नाच्न थालिने लाखेनाच यहाँका नेवार समुदायले जीवित राखेका छन्। दैनिकजसो निकालिने लाखेनाचले तिजसम्मै निरन्तरता पाउने लाखेनाचको संरक्षणको अगुवाइ शाक्य कल्याण समाज बागलुङले जनाएको छ । साउनको चतुर्दशीदेखि देखाउन थालिएको लाखेनाचले दैनिक रूपमा निरन्तरता पाइरहेको छ ।
अहिले बजारको चोक तथा गल्लीमा लाखेनाचको रौनकता छाएको छ । झ्याली र बाजाको तालमा दुईवटा लाखे मुखुण्डो लगाएर रंगीबिरंगी कपडा तथा पशुको रौँले छोपिएर नाच्ने दृश्यले बागलुङ बजारमा दैनिकजस्तो रौनकता लिएको पाइन्छ। लाखेनाच हेर्न गएका बालबालिकाहरूले ‘चे लाखे भूत’ भन्दै जिस्क्याउँदा लाखेले पनि दौडिएर उनीहरूलाई पछ्याइरहेको दृश्य रोचक हुने गर्दछ । लाखनाच हेर्नेको बागलुङ बजारमा भिडनै लाग्ने गर्छ । रहेक वर्ष साउन याममा नाचिने लाखेनाचलाई अन्य समुदायका लागि अनौठो नाचको रूपमा लिइएको छ ।
तीन सय वर्षअघिदेखि राक्षसको रूपमा रहेको घण्टाकर्णलाई मारेपछि पुनः राक्षसको अवतार नदोहोरियोस् भन्नका लागि लाखे नाच्ने परम्परा रहेको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बताए। नेवार समुदाय रहेको स्थानमा उक्त नाच सुरक्षित रहेको शाक्यले बताए ।
‘तीन सय वर्ष पहिला काठमाडाैंबाट व्यापार गर्नका लागि बागलुङ आएका नेवार समुदायले आफ्नो संस्कारको रूपमा लाखेनाचलाई लिने गरेका छन् । पुण्य काम गर्नेलाई राक्षसले दुःख दिएर मार्ने गरेपछि घण्टाकर्णलाई जलाएर मारेपछि पुनः राक्षसले दिने दुःख नदोहोरियोस् भन्नका लागि र राक्षस प्रेमिकाहरूलाई खुसी पार्नका लागि लाखे नाचिँदै आइएको हो,’ शाक्यले भने, ‘नेवारभित्र समेत लाखेनाच शाक्य समुदायले संरक्षण गर्दै आएको छ, गाईजात्राको दिनदेखि पुनः नेवार समुदायको भदौरे नाच प्रदर्शन हुन्छ ।’
महिना दिनजस्तो नाच्ने लाखेनाच टिकाउन भने शाक्य कल्याण समाजलाई चुनौती रहेको छ । लाखेको अभाव छ भने सिकाउनसमेत समस्या भइरहेको छ । खर्चिलो नाचका रूपमा समेत रहेको नाच्ने तथा बजाउने कलाकार टिकाउन समस्या भएको शाक्यको भनाइ छ । पहिला फाट्टफुट्ट रूपमा देखाइने लाखेनाचलाई मौसमले साथ दिएमा दैनिकजसो देखाउने प्रयास भइरहेको शाक्यको भनाइ छ । स्थानीय सरकारले लाखेनाच र भदौरे नाच संरक्षणमा ध्यान दिन आवश्यक रहेको उनले बताए ।
लाखनाच र भदौरे नाचमध्येको एक जोगीनाच शाक्य कल्याण समाजले संरक्षण गर्दै आएकोमा होवा नाच, रोपाइँ नाच, जोगीनाच र घोडानाचलगायतका नाच भने नेवाः ल्याम पुचले गर्दै आएको मंका खल बागलुङका अध्यक्ष मुकेश राजभण्डारीले जानकारी दिए । बागलुङका नेवार समुदायले यस समयमा जोगीनाच, गाईजात्रा, हनुमान नाचलगायतका नाचहरू देखाउने गर्दछन् ।
उनले खर्चिलो नाच भएकाले संरक्षणमा चुनौती भएको बताउँदै नागनागिनी र थेत्तर नाच लोप भइसकेको बताए । उनले बास्सा नाचसमेत लोप हुने खतरा बढेको बताए । बागलुङ नगरपालिकाले यहाँको नेवार समुदायमा रहेको हनुमान नाच जोगाउन नीति तथा कार्यक्रममा समावेश गरेको बताउँदै आगामी दिनमा लाखे नाच र भदौरे नाच संरक्षणका लागि नगरपालिकाले अग्रसरता देखाउने नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।