लुम्बिनीको विहार सञ्चालन कार्यविधि बनाइँदै

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

लुम्बिनी विकास कोषभित्र रहेका विहार सञ्चालनका लागि कार्यविधि बनाइने भएको छ । कोषभित्रका विहारहरूले होटेलसरह सुविधा दिएर पर्यटक राख्ने गरेको भन्दै होटेल व्यवसायीहरूले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । बुधबार लुम्बिनी विकास कोष र लुम्बिनी होटेल संघबिच भएको छलफलबाट विहार सञ्चालन कार्यविधि बनाउन नौ सदस्यीय समिति गठन गर्ने सहमति भएको लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए ।

समितिमा लुम्बिनी विकास कोषबाट तीनजना, होटेल संघबाट दुईजना, विहारबाट दुईजना, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एकजना, जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट एकजना सदस्य रहनेछन् । ‘सोही समितिले बनाएको कार्यविधिमा रहेर विहार सञ्चालन हुनेछन,् लुम्बिनी होटेल संघले गरेको आन्दोलनले सार्थकता पाएको छ,’ ज्ञवालीले भने । आगामी हप्तादेखि लुम्बिनी विकास कोषभित्र बस प्रवेशलाई पूर्ण प्रतिबन्ध लगाउने सहमति पनि भएको ज्ञवालीले जानकारी दिए । व्यवसायीहरूले १२ वर्षदेखि यही माग राख्दै आएकोमा बल्ल सम्बोधनको नजिक पुगेको लुम्बिनी होटेल संघका महासचिव पुरुषोत्तम अर्यालले बताए । 

लुम्बिनीमा ९५ भन्दाबढी होटेल रहेकोमा १५ वटा बन्द र १५ भन्दा बढी बन्द हुने अवस्थामा छन् । होटेल क्षेत्रमा मात्र सात अर्बभन्दा बढी लगानी भइसकेको संघको भनाइ छ । लुम्बिनीभित्र रहेका थाई, चाइना, कोरिया, म्यानमार, कम्बोडियालगायतका विहारले पर्यटक राख्दै आएका छन् । 

सुझावित समाचार