आन्तरिक पर्यटकको रोजाइमा मुगुको सिप्टीचौर

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

छायानाथ–रारा नगरपालिका–७ मा पर्ने सिप्टीचौर पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय राराताल पुग्दा जुम्लाको बुलबुले क्षेत्र कटेपछि यही पाटन भएर आउनुपर्छ । पर्यटक यही पाटनमा ओर्लेर रमाउँछन् । 

सुर्खेत, नेपालगन्ज भएर गाडीको यात्रा गर्दै रारा गन्तव्य बनाएर आएका पर्यटकलाई यही सिप्टीचौरले थकान मेटाउन तथा प्राकृतिक सुन्दरताले स्वागत गर्न बसेको जस्तो लाग्ने गरेको सिप्टीचौरमा भेटिएका रारा घुम्न आएका बर्दियाका रञ्जन शर्माले बताए ।

‘कर्णालीको बिजोग सडक, दुर्गममा जटिल यात्रा गर्दै आउँदा यही सिप्टीचौरले सबै दुःख–कष्ट भुलाउँदो रहेछ,’ उनीसँगै बाइकमा सवार बर्दियाकै निकल बस्नेतले भने, ‘यहाँ पुग्दा लाग्यो बेग्लै संसारमा छौँ ।’ 

यहाँ सिजनमा दैनिकजसो सयदेखि दुई सयजनासम्म आन्तरिक पर्यटक पुग्ने गरेको छायानाथ–रारा नगरपालिका–७ का निवर्तमान वडाध्यक्ष हरिचन्द्र शाही बताउँछन् । उनका अनुसार बर्खायाममा यस पाटनमा गाई–भैँसीका खर्कसमेत हुने भएकाले पाटन भएर आउने पर्यटक प्राकृतिक सुन्दरतामा रमाउँछन् । साथै, उपलब्ध दही, दुध, मही, खिर र घिउ पनि खान पाउँछन् । 

पछिल्लो समय रारा पुग्ने पर्यटकको रोजाइमा परेको यो पाटनमा विभिन्न व्यक्ति, कार्यालय तथा संघ–संस्थाले उत्सव मनाउने तथा कार्यक्रम आयोजना गर्दै आएका छन् ।

पाटनबाट सवारीसाधन भएर राराताल पुग्न एक घण्टा मात्र लाग्छ । पर्यटक अघिल्लो रात बुलबुलेमा रहेका होटेलमा वास बस्ने र बिहान एक–दुई घण्टा सिप्टीचौरमा रमाउँदै त्यसपछि रारा पुग्ने गरेका शाहीले बताए । 

यद्यपि, आन्तरिक पर्यटनको राम्रो गन्तव्य बनेको सिप्टीचौरमा पर्यटकमैत्री भौतिक पूर्वाधारको कुनै विकास गरिएको छैन । अहिले जे छन्, त्यो प्राकृतिक मात्र छन् । यहाँ पर्यटकलाई भुलाउने अन्य संरचना बनाउन सकिएमा पर्यटकको बसाइ लम्बिने र मुगु तथा जुम्लाका जनताले यसको फाइदा लिन सक्ने सामाजिक अभियन्ता मीन रावल बताउँछन् ।
 

सुझावित समाचार