पिक आवरमा उपत्यकामा ट्राफिक व्यवस्थापन कसरी भइरहेको छ ?
उपत्यकामा बिहान ९ देखि ११ र बेलुकी ४ देखि ६ बजेसम्म सवारीसाधनको चाप बढी हुन्छ । बढी प्रशासनिक निकाय काठमाडौंमै भएकाले बिहान पिक आवरमा चक्रपथबाट भित्रिने र बेलुकी बाहिरिने सवारी साधनको संख्या अत्यधिक छ । तर, हाम्रा सडक पूर्वाधार त्यति व्यवस्थित छैनन् । व्यस्त सडकमा खोलासरि पानी बगिरहेको हुन्छ । सडक भत्केको छ । ट्राफिक लाइटले काम गरेको छैन । यी समस्याले जुन गतिमा सवारी गुड्नुपर्ने हो त्यही गतिमा गुड्न पाउँदैनन् । करिडोरका सडकमा पनि खोलाको पानी आउने, हिलो जम्ने, अग्ला सवारी साधन करिडोरमा गुड्न नसक्नेलगायत अवस्था छ । पुल पनि साँघुरा छन् । अन्त निर्वाध गुडिरहेका सवारी साधन पुलमा आएपछि रोकिनुपर्छ । सडक पूर्वाधार नमिलेका कारण अधिकतम जनशक्ति खटाउनुपरिरहेको छ ।
करिडोरमा देखिने अव्यवस्थित पार्किङले सवारी आवतजावतमा कस्तो चुनौती थपेको छ ?
हामीले करिडोरलाई नै लक्षित गरेर विभिन्न ‘प्वाइन्ट’मा ‘टिआरएस’ जनशक्ति खटाएका छौँ । कतिपय सडकमा जथाभावी पार्किङ भइरहेको छ । यसमा हामीले निगरानीसँगै कारबाही पनि गरिरहेका छौँ । हाल हामीसँग एक हजार आठ सय ट्राफिक जनशक्ति छ । यसलाई ७४ युनिटमा विभाजन गरेर सञ्चालन गरिरहेका छौँ ।
ट्राफिक लाइट किन व्यवस्थित हुन सकिरहेका छैनन् ?
उपत्यकाका ६६ स्थानमा ट्राफिक लाइट जोडिएका छन् । तर, १८ स्थानमा मात्रै चालु छन् भने ४८ स्थानमा चल्दैनन् । यो मर्मत गर्ने काम सडक विभाग र महानगरको हो । हामीले ट्राफिक लाइट बनाउन सक्दैनौँ । हामीसँग बजेट पनि हुँदैन । यसको प्राविधिक पाटो अर्कै हुन्छ ।