तरकारीमा कर लगाएको भन्दै भीमदत्तका किसान र व्यवसायी आन्दोलित

नगरपालिका भन्छ– कर भारतीय तरकारीमा मात्रै हो

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

स्थानीय सरकारले तरकारीमा कर लगाएको भन्दै भीमदत्त नगरपालिकाका किसान र व्यवसायी आन्दोलित भएका छन्। चालू आर्थिक वर्ष ०८१/८२ देखि भीमत्तद नगरपालिकाले तरकारीमा कर लगाएपछि किसान र व्यवसायी आन्दोलित भएका हुन्।

नगरपालिकाले तरकारीमा कर लगाएर किसानमाथि करको भार थुपारेको भन्दै किसान र व्यवसायी मंगलबार बाहिरबाट आउने तरकारी रोकी सब्जीमण्डी बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले भीमदत्त नगरपालिकाले किसानले बेच्ने तरकारीको मूल्यमा कर लगाएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताए।

‘किसानले हामी व्यवसायीलाई बेच्ने तरकारीमा स्थानीय सरकारले कर लगाएको छ,’ उनले भने, ‘हामीले यसअघि नै भन्दै आएका छौँ, व्यवसायीले पालिकालाई कर तिरिरहेका छौँ, तर किसानबाट समेत कर लिन खोजियो।’ संघका अध्यक्ष सोनारले स्थानीय सरकारले कृषि प्रवर्द्धन गर्नुको साटो किसानको टाउकोमा करको भार थुपारेर अन्यायमा पारेको बताए।

आन्दोलनमा सहभागी बेदकोटका किसान सुनील जोशीले आफूहरूले तरकारी बेच्न महेन्द्रनगर ल्याउँदा कर लगाउने कार्य निन्दनीय भएको बताए। तरकारीमा कर लगाउने विषय संविधानमै नभएको दाबी गर्दै उनले भीमदत्त नगरपालिकाले बाहिरबाट आउने तरकारीका कर लगाएर मारमा पारेको बताए।

‘कञ्चनपुरकै पनि भीमदत्त नगरपालिका महेन्द्रनगर बजारमा बढी तरकारी माग हुन्छ,’ उनले भने, ‘जिल्लाभरिका अन्य पालिकाबाट तरकारी बेच्न आउँदा पनि यहाँ कर लागेपछि कसरी बेच्ने ?’ तरकारी व्यवसायीले स्थानीय सरकारले किसानबाटै कर असुलेर स्वदेशी किसानलाई निरुत्साहित र विस्थापित गर्दै भारतबाट तरकारी आयातका लागि वातावरण बनाउन खोजेको आरोप लगाएका छन्। मण्डी व्यवसायीले किसानमाथि लगाएको कर खारेजी नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। 

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पनि किसानमाथि लगाएको कर खारेजीको माग गरेको छ। पार्टीको कञ्चनपुर कमिटीले किसानमाथि थुपारेको अनाश्यक कर खारेजीको माग गर्दै किसानमारा निर्णय खारेज नगरे आन्दोलनको चेतावनी दिएको छ।

भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले जिल्ला र देशका अन्य जिल्लाबाट आउने तरकारीमा कर नलगाएको स्पष्ट पार्दै भने, ‘हामीले मण्डी व्यवस्थापनकै लागि विदेशबाट आएको तरकारीमा प्रतिकिलो ३० पैसाका दरले कर लिन खोजेका हौँ। यो विषय केही व्यक्तिले रतिरञ्जित गरेका हुन्। नेपाली किसानबाट होइन, भारतीय व्यवसायीबाट मात्रै कर लिने हो।’

सुझावित समाचार