डेंगु र हैजा महामारीका रूपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न भागमा हैजा तथा डेंगुको संक्रमण देखिन थालेपछि यसलाई महामारीका रूपमा बढ्न नदिन काम थालेको छ । 

मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थालेपछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालीन कदम अघि बढाएको हो ।

मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालित भएर काम गरिरहेको छ । 

टोलीहरूले बिरामीको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिमा लक्षणको निगरानी गरिरहेका छन् । यसले हैजा थप फैलन नदिन र संक्रमण  देखिएको स्थानमा पनि नियन्त्रण गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । पानीका कारण देखिने रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित स्थानका जिम्मेवार सरोकारवालासँग छलफल गरेर तत्काल काम थालिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

आगामी दिनमा थप समस्या आउन नदिन केन्द्रीय, प्रदेश तथा स्थानीय तहमा र खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने योजना बनाएको मन्त्रालयले राष्ट्रिय हैजा नियन्त्रण/रोकथाम योजना २०२४–२०३० बनाई सोसम्बन्धी आवश्यक कार्य गर्ने तयार गरिरहेको छ ।
 

सुझावित समाचार