चर्च ब्वाइज युनाइटेड र पारो एफसीले दशरथ रंगशालाको गुणस्तरको विषयमा चिन्ता देखाएका छन् । नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीले मंगलबार एएफसी च्यालेन्ज लिगका प्रारम्भिक छनोटमा प्रतिस्पर्धा गर्दै छन् । गत साता मात्र एएफसीले रंगशालामा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न अनुमति दिएको थियो । अन्तर्राष्ट्रिय खेल आयोजना गर्न योग्य भएपछि रंगशालामा पहिलो खेल नै एएफसी च्यालेन्ज कपको प्रारम्भिक चरण प्रतिस्पर्धा हुन लागेको हो । चर्च ब्वाइज र पारोले रंगशालामा ६ महिनादेखि खेल नभएको र पहिलोपटक खेल हुँदा समस्या आउने बताएका छन् ।
पारोबाट प्रतिनिधित्व गरिरहेका जापानिज स्टार कुसेके होन्डाले यस किसिमको मैदानमा जीवनमै कहिले नखेलेको प्रतिक्रया दिएका छन् । पारोका प्रशिक्षक पुष्पलाल शर्माले मैदान गतिलो नभएको र घरेलु टोली चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले अभ्यास गर्न नपाएको गुनासो पोखेका छन् । उनले ६ महिनापछि दशरथ रंगशाला खेल्न लायक हुँदा त्यसको वातावरणका बारेमा जानकारी नभएको महर्जनको भनाइ छ । ‘हामीलाई मैदान उपलब्ध नहुँदा दशरथ रंशालामा अभ्यास गर्न पाएनौँ । लगभग ६ महिनापछि रंगशालामा खेल्दै छौँ,’ प्रशिक्षक महर्जनले भने । नेपाली राष्ट्रिय पुरुष टोलीले ५ मंसिर ०८० मा यमनसँग खेलेपछि यहाँ आधिकारिक प्रतियोगिता भएको छैन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गैरखेल गतिविधिसहित मैदानको मर्मतसंहार नगर्दा एसियाली फुटबल महासंघ (एएफसी)ले गत जेठमा मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन नसकिने भनी अयोग्य बताएको थियो । राखेप र एन्फाले आवश्यक मापदण्ड पूरा गरेपछि एएफसीले रंगशालालाई एक वर्षका लागि मान्यता दिएको हो ।
मैदान सोचेको जस्तो नभएको दाबी
एएफसी प्रो लाइसेन्स लिएका पारोका प्रशिक्षक शर्माले आफूले सोचेजस्तो मैदान नभएको दाबी गरेका छन् । ‘हामीलाई यहाँ खेल्न धेरै गाह्रो हुन्छ । मैले जुन कल्पना गरेको थिएँ मैदान, त्यो सोचेजस्तो भएन । खेल्दा निकै समस्या आउनेछ,’ उनले भने । यसैबीच, एन्फाका एक उच्च अधिकारीले पनि मैदानको स्तर निकै जिर्ण भएको बताए ।
उनले खेल क्रममा वर्षा भए नेपालकै बेइजत हुने जनाए । ‘राखेपले तयार पारेको मैदान निकै जीर्ण छ । एक–दुई दिनअघि नै मैदानमा रोलर लगाउनुपर्ने थियो । खेल क्रममा वर्षा भयो भने खेलाडीले खेल्नै सक्दैनन् । राष्ट्रकै बेइजत हुन्छ । एएफसीले जरिवाना पनि गराउन सक्छ,’ ती अधिकारीले भने । प्रिम्याच कम्फेरेसनमा दुवै टोलीका प्रशिक्षकले दोस्रो चरणमा स्थान बनाउन खेल्ने बताए । हार्ने टोली बाहिरिनेछ । गत सिजन पारो नेपालकै मच्छिन्द्र एफसीसँग ३–२ ले पराजित हुँदा पहिलो चरणबाटै बाहिरिएको थियो ।
विश्वकप खेलेका होन्डाको गुनासा
एसियाकै स्टार फुटबलर होन्डाले मैदानको विषयमा धेरै गुनासो पोखेका छन् । भुटानको पारो एफसी शनिबार नेपाल आएको थियो । नेपाली सेनाको भद्रकाली मैदानमा टोलीले आइतबार पहिलो अभ्यास गर्ने तालिका थियो । खेलाडी अभ्यास गर्न पुग्दा त्यहाँ ड्रेसिङ रुम तयार थिएन । मैदानमा कर्मचारी घाँस काटिरहेका थिए । आर्मीमा प्रशिक्षण समयमै नहुने भएपछि पारोका खेलाडी दशरथ रंगशालामा अभ्यास गर्न पुगेका थिए । अभ्यासपछि जापानिज सञ्चारमाध्यमसँग बोल्दै होन्डाले अहिलेसम्मकै गुणस्तरहीन मैदानमा आफूले अभ्यास गर्नुपरेको बताए । जापानबाट सन् २०१०, २०१४ र २०१८ को फिफा विश्वकप तथा इटालियन सिरी ए मा एसी मिलानबाट तीन सिजन खेलेका होन्डाले स्तरीय मैदान नभएको भन्दै आलोचना गरेका छन् । उनले यस्तो मैदान सुधार गर्नुपर्नेसमेत बताएका छन् । यद्यपि, उनले आफूले असन्तुष्टि जनाएर केही नहुने बताए ।
अभ्यासविनै रंगशालामा खेल्नुपर्ने भयो : बालगोपाल महर्जन, प्रशिक्षक, चर्च ब्वाइज
एएफसीले जति पनि विदेशी खेलाडी मैदान उतार्न पाउने नियम बनाएकोप्रति मेरो असन्तुष्टि छ । यो मलाई फेयर लागेन । क्लबले देशको प्रतिनिधित्व गर्दा खेलाडी पनि सोही देशकै राखिनुपर्ने हो । पारोमा जापानका पाँच र अफ्रिकन खेलाडी पनि छन् । चर्च ब्वाइजमा अनन्तदेखि राष्ट्रिय टिमबाट खेलेका अधिकांश खेलाडी छन् । उनीहरूबाट धेरै आशा छ । अभ्यासविना नै प्रतिस्पर्धा गर्न लागेका छौँ ।
मैदान सोचेजस्तो भएन : पुष्पलाल शर्मा, प्रशिक्षक, पारो एफसी
हामीलाई यहाँ खेल्न धेरै गाह्रो हुन्छ । वातारण पनि फरक छ । एक मैदान सोचेजस्तो भएन । हामीले समयमै अभ्यास गर्न पाएनौँ । हामीले हतारमा तयारी ग¥यौँ । होन्डाले नराम्रो मैदान हुँदा चित्त दुखाएका छन् । चर्चसँग खेल्न निकै गाह्रो हुनेछ । हामीसँग पाँच देशका ११ विदेशी खेलाडी छन् । पछिल्लोपटक मच्छिन्द्रसँग ३–२ ले पराजित भएका थियौँ । योपटक यो नतिजा दोहो¥याउने पक्षमा छैनौँ ।