भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को औपचारिक निमन्त्रणामा नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षण गर्न सोमबार भारतको बेंग्लोरतर्फ प्रस्थान गरेको छ । नेपाली टोलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत दुईवटा सिरिजको तयारी भारतमा गर्न लागेको हो । खेलाडीले भारतमा दुई साता अभ्यास गर्नेछन् । त्यसपछि खेलाडी नेपाल फर्कने वा त्यहीँबाट आइसिसी विश्वकप लिग २ खेल्न क्यानडा जान सक्ने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बताए ।
उनका अनुसार प्रारम्भिक टोलीमा रहेका खेलाडी भारत गएका हुन् । क्यानडाको ग्लोबल टी–२० लिगमा आबद्ध भइरहेका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले भारतमा दुई सातासम्म चल्ने प्रशिक्षणमा सहभागी नहुने लामाले बताए । ‘राष्ट्रिय टोलीमा रहेका तीनजना महत्वपूर्ण खेलाडी क्यानडामै छन्, उनीहरू त्यहाँ नै अभ्यास गरी नेपाली टोलीमा सम्मिलित हुनेछन्,’ लामाले भने ।
भारतमा रहेका देव खनाल र गुल्सन झा पनि नेपाली टोलीमा सम्मिलित हुनेछन् । नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई पनि भारतमा छन् । देसाई बेंग्लोर पुग्ने क्यानले जनाएको छ । यसअघि नेपाली टोलीले अनौपचारिक रूपमा बिसिसिआईअन्तर्गत अभ्यास गरे पनि पहिलोपटक औपचारिक निमन्त्रणमा प्रशिक्षण गर्न लागेको प्रवक्ता लामाले बताए ।
क्यानडामा सिरिज
नेपाली टोलीले बेंग्लोरमा बिसिसिआईकै राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछ । यो प्रशिक्षणको खर्च क्यान आफैँले व्यहोर्नेछ । आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा २२ खेलाडी छन् । नेपालले विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको पहिलो सिरिज खेलेको थियो । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको नेपालले एक खेल मात्र निकाल्दा तीन खेलमा हारको सामना गर्यो । सेप्टेम्बरमा क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ । अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन् ।
बन्द प्रशिक्षणमा परेका खेलाडी
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, करण केसी, गुल्सनकुमार झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, आरिफ शेख, सूर्य तामाङ, कुशल मल्ल, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, आकाश चन्द, अर्जुन साउद, सागर ढकाल, सोमपाल कामी, सन्दीप जोरा ।