तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा कोसेली घर सञ्चालनमा ल्याइएको छ । खाँदबारी नगरपालिकाले विमानस्थलमा सूचना केन्द्र तथा कोसेली घर सञ्चालनमा ल्याएको हो । जिल्लाका बारेमा सोही केन्द्रबाट सूचना प्राप्त गरिने र जिल्लाका स्थानीय उत्पादन त्यहीँ पाइने व्यवस्थापन गरिने उद्देश्यले सूचना केन्द्र तथा कोसेली घर सञ्चालनमा ल्याइएको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताए ।
हवाईमार्गबाट संखुवासभा जिल्ला प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटक, आगन्तुक–पाहुनालाई समेत लक्षित गरिएको उनको भनाइ छ । ‘जिल्लाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका तस्बिर र रुटसहितको जानकारी, सांस्कृतिक तथा जातीय पहिचान झल्किने विभिन्न सामानहरू, विभिन्न महत्वपूर्ण स्थलका तस्बिर, हाइड्रोपावर, बाटोघाटो, होटेल–रिसोर्ट आदिको सूचना विमानस्थलमै पाइनेछ,’ उनले भने, ‘साथै, स्थानीय उत्पादन जस्तै, रुद्राक्ष, अल्लोको सामान, राडीपाखी, माटाका भाँडा पनि सहज र उचित मूल्यमा उपलब्ध हुनेछन् ।’
सूचना केन्द्रले जिल्लाका बारेमा संखुवासभा पहिलोपटक आउने जोकोहीलाई जानकारी दिने र यहाँका स्थानीय उत्पादनहरू खरिद गरेर लैजान पाउने व्यवस्थापन गरिएको नगरपालिकाको भनाइ छ । नगरपालिकाले सूचना केन्द्र तथा कोसेली घर सञ्चालन गर्ने जिम्मेवारी मिस यू रिसोर्ट पार्कका सञ्चालक सञ्जय देवानलाई एक वर्षको जिम्मेवारी दिएको छ ।
खाँदबारी नगरपालिका र मिस यू रिसोर्ट पार्कसँग एक वर्षका लागि सम्झौता गरिएको र आवश्यकताअनुसार थप हुने नगरपालिकाको भनाइ छ । मिस यू पार्कका सञ्चालक सञ्जय देवानले जिल्लाको पर्यटन प्रवद्र्धन र पहिचान झल्कने सामान राखिने बताए ।