काठमाडौंको चुनिखेलस्थित करुणा अस्पतालमा विद्या रानाले गत २४ असारमा जुम्ल्याहा शिशुलाई जन्म दिइन् । दुवै शिशु जन्मिँदा साढे दुई किलोका थिए । शिशु जन्मिएपछि अस्पतालले दिएको रिपोर्टमा उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ । शिशुको अवस्था सामान्य भएकाले भोलिपल्टै डिस्चार्ज दिने भनेर अस्पताल प्रशासनले आफन्तलाई आश्वासन दिएको थियो । तर, भोलिपल्ट अस्पतालले डिस्चार्ज दिन मानेन । ३४ हप्ता (प्रिटर्म डेलिभरी)मा शिशु जन्मिएकाले थप केही दिन अस्पतालकै निगरानीमा राख्न अस्पतालले शिशुका बुबाआमालाई आग्रह गर्यो । अस्पतालको आग्रह उनीहरूले स्वीकार गरे । गर्भावस्थादेखि नै यही अस्पतालमा नियमित चेकजाँच र सुत्केरी गराएकीले शिशुकी आमा सबै राम्रै हुनेमा ढुक्क थिइन् । तर, उनले सोचेजस्तो भएन ।
केही दिनपछि अस्पतालले शिशुको अवस्थाबारे आफन्तलाई जानकारी नै दिन छाड्यो । जन्मिएको चौथो दिन एक्कासि एउटा शिशुलाई निमोनिया भएको भन्दै अस्पतालले अक्सिजन दिनुपर्ने जनायो । त्यसपछि नाइटोको अपरेसन गर्नुपर्ने भन्दै औषधि मगायो । अपरेसनपछि शिशुको शरीरभरि इन्फेक्सन फैलियो । अस्पतालप्रति विश्वास लाग्न छाडेपछि आफन्तले निमोनिया भएका शिशुलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याए । अर्को शिशु भने करुणा अस्पतालमै थियो । सामान्य अवस्थामा करुणामा राखिएका शिशुको जन्मिएको छैटौँ दिन एक्कासि मृत्यु भयो । त्रिवि शिक्षण अस्पतालमा उपचाररत शिशुको पनि साताैँ दिनमा मृत्यु भयो ।
अस्पतालले स्वास्थ्य अवस्था सामान्य भन्दाभन्दै पनि शिशुको मृत्यु भएपछि आफन्तलाई शंका लाग्न थाल्यो । करुणा अस्पतालले शिशुको मृत्यु हुनुभन्दा अघिल्लो दिन पाँच सय एमजीको औषधि किन्न पठाएको थियो । सोही औषधि दिएपछि भोलिपल्ट अर्थात् जन्मिएको छैटौँ दिनमा शिशुको मृत्यु भएको आफन्तको आरोप छ । यता निमोनियाले ग्रस्त अर्का शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएपछि आफन्तले त्यसको कारण र सत्यतथ्य माग्दै करुणा अस्पतालमै पुगे । त्रिवि शिक्षण अस्पतालले पनि करुणा अस्पतालमै शिशुको उपचार प्रक्रिया बिग्रिएको बताएपछि आफन्तहरू करुणा अस्पताल पुगेका हुन् । शिशुको मृत्यु भएको दिन आफन्तहरू करुणा अस्पतालमा पुग्नुअघि नै अस्पतालले प्रहरी तैनाथ गरिसकेको थियो ।
शिशुहरूका बुबा प्रदीप भट्टले रिपोर्ट माग्दा अस्पताल प्रशासनले उल्टै धम्की दिएको र अस्पतालभित्र प्रवेशमा समेत रोक लगाएको बताए । ‘हाम्रो शिशु के कारणले मृत्यु भएको हो भन्ने पुष्टि अस्पतालले गर्न सकेको छैन, जन्मिएको ६ दिनसम्म उनीहरूको अवस्था रामै्र थियो, तर साताँै दिन एकाएक मृत घोषणा गरियो,’ उनले भने, ‘अघिल्लो दिनसम्म शिशुको अवस्था राम्रो छ भनेर अस्पतालले नै भनेको थियो, यस घटनामा अस्पताल प्रशासनकै लापरबाही छ ।’
उनले अस्पतालले एकाएक शिशुलाई मृत घोषणा गर्दा आफूहरू बेहोस भएको र के कारणले मृत्यु भएको हो भनेर अस्पतालले चित्तबुझ्दो जवाफसमेत नदिएको बताए । शिशुको मृत्यु भएका दिन आफन्तहरू पुग्दा अस्पताल प्रशासनले प्रहरी तैनाथ गरेर धम्क्याउँदै धकेलाधकेल गरेको थियो । शिशुका बुबालाई अस्पतालका कर्मचारीले कोठामा लगेर धम्क्याउँदै पोस्टमार्टम नगर्ने पत्रमा हस्ताक्षर गर्न लगाएको पीडितहरूको भनाइ छ । ‘हाम्रो सन्तानको के–कति कारणले मृत्यु भएको हो भनेर बुझ्दा अस्पतालले प्रहरी लगाएर लखेट्यो, मृत्युको खास कारण पनि दिएन,’ उनले सुनाए, ‘मलाई कोठामा लगेर पोस्टमार्टम गर्दिनँ भन्ने कागजमा हस्ताक्षर गराए । धम्की दिएपछि डरैडरमा मैले हस्ताक्षर गरेँ ।’
आफूले जन्म दिएका दुवै शिशुको मृत्यु भएपछि आमा विद्या राना अर्धमुर्छित छिन् । उनी सुत्केरी शरीर लिएर अस्पतालको लापरबाहीको छानबिन र कारबाहीको माग गर्दै प्रहरी प्रशासन धाउन थालेकी छिन् । ‘रिपोर्टमा बच्चामा कुनै समस्या देखिएको थिएन, मैले सुरुदेखि नै त्यही चेकअप गराएको थिएँ, जन्मिएपछि दिएको रिर्पोट पनि ठीक थियो, तर एकाएक अस्पतालले मेरो बच्चालाई मृत घोषणा गर्यो,’ उनले सुनाइन्, ‘हामीले हाम्रो शिशुलाई अस्पतालको पूर्ण भरोसामा छाडिदिँदा अस्पतालले लापरबाही गर्यो ।’ अस्पतालका चिकित्सक प्रयास श्रेष्ठले शिशुहरूको सबै अवस्था नर्मल रहेको बारम्बार बताउँदै आएका थिए ।
आफन्तले दिए काउन्सिलमा उजुरी
जुम्ल्याहा शिशुको मृत्युको विषयमा अस्पतालले जवाफ दिन अस्वीकार गरेपछि पीडित पक्षले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका छन् । अस्पतालकै लापरबाहीले दुवै शिशुको मृत्यु भएको भन्दै उनीहरूले अस्पताललाई कारबाहीको माग गर्दै ३० असारमा काउन्सिलमा उजुरी दिएका हुन् । शिशुको मृत्यु हुनुको कारण माग गर्दा अस्पतालले धम्याएको र छिर्न नदिएपछि उनीहरूले ३० असारमा मेडिकल काउन्सिलमा उजुरी दिएका हुन् । तर, हालसम्म काउन्सिलले घटनामा अनुसन्धान गरेको छैन ।
घटनाबारे कागजात जुटाउने काम भइरहेको र गम्भीर छानबिन हुने काउन्सिलका अध्यक्ष चोपलाल भुसालले जानकारी दिए । ‘यसमा आचरण समितिले काम गरिरहेको छ, यस्ता घटनामा हामी गम्भीर रूपमा काम गर्छौं, अस्पतालको कमिकमजोरी भेटिए कारबाही हुन्छ, हामीकहाँ अन्य उजुरीको पनि चाङ छ,’ उनले भने, ‘कतिपय विषयमा तुरुन्त छानबिन गर्न कठिन हुन्छ ।’ अस्पतालका सञ्चालक डा. प्रयास श्रेष्ठले यस विषयमा आफू नबोल्ने बताए । ‘यसबारे मलाई कुरा गर्नु छैन,’ उनले नयाँ पत्रिकासँग भने ।