अवैध बस्ने विदेशीको लाखौँ भिसा दस्तुर अदालतबाट मिनाहा, देश मानव तस्करीको ट्रान्जिट बन्ने जोखिम

तेस्रो देश प्रवेशका लागि नेपाल आएर शरणार्थी बन्ने विदेशीले अदालतबाट भिसा दस्तुरमा उन्मुक्ति पाउन थालेपछि राष्ट्रिय सुरक्षामा समेत चुनौती

आइतबार, २७ साउन, २०८१
डिजिटल संस्करण

कोशहरि निरौला, महानिर्देशक, अध्यागमन विभाग : अदालतको परमादेशका आधारमा अवैध रूपमा बस्ने विदेशीहरू भिसा दस्तुर मिनाहा पाएर छुट्न थालेका छन् । सर्वाेच्चको परमादेशका आधारमा केही छुटिसकेका छन्, केहीको मुद्दा विचाराधीन छन् । सर्वाेच्चको फैसलाका कारण भिसा दस्तुर गुम्न थालेको छ ।

नेपालमा वर्षाैँदेखि अवैध रूपमा बस्दै आएका विदेशी नागरिकलाई एकपछि अर्काे मुद्दामा अदालतले भिसा दस्तुर मिनाहाको फैसला गर्न थालेको छ । विभिन्न गतिविधिमा संलग्न यस्ता विदेशीलाई लाखौँ दस्तुर मिनाहा हुन थालेपछि यसले देश मानव तस्करीको ट्रान्जिट हुने र राष्ट्रिय सुरक्षामै जोखिम बढ्न सक्ने चिन्ता गृह मन्त्रालयका अधिकारीको छ । 

पछिल्लो चार महिनामा सर्वाेच्च अदालतले नौ विदेशीको भिसा दस्तुर मिनाहा गर्न परमादेश दिएको छ ।  अध्यागमन विभागले जरिवानासहित भिसा दस्तुर सुनाएका विदेशी नागरिक एकपछि अर्को गर्दै बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च जाने र शुल्क मिनाहा भएर छुट्न थालेपछि अध्यागमन अधिकारी चिन्तित बनेका हुन् । यसबाट जरिवाना गुम्ने र अवैध रूपमा बस्ने विदेशीलाई प्रोत्साहन गर्ने भएकाले राष्ट्रिय सुरक्षामै जोखिम बढ्न सक्ने उनीहरूको चिन्ता छ । 

अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौला सर्वाेच्च अदालतको परमादेशका आधारमा अवैध रूपमा बस्ने विदेशीहरू भिसा दस्तुर मिनाहा पाएर छुट्न थालेको बताउँछन् । ‘सर्वाेच्चको परमादेशका आधारमा केही छुटिसकेका छन्, केहीको मुद्दा विचाराधीन छ,’ उनले भने, ‘सर्वाेच्चको फैसलाका कारण भिसा दस्तुर गुम्न थालेको छ ।’ 

यसरी सर्वाेच्चबाट जरिवाना छुट पाउने विदेशीमध्ये एक हुन् क्यानेडियन नागरिक रोबर्ट सेन्ट जुल्स । उनी विगत आठ वर्षदेखि नेपालमा अवैध रुपमा बस्दै आएका थिए । पर्यटक भिसामा नेपाल आएका उनी फ्रेन्च भाषा पढाउने लगायतका गतिविधिमा संलग्न थिए । अध्यागमन विभागले उनलाई भिसा शुल्क र विलम्ब शुल्क गरी १६ हजार नौ सय ४५ तिर्न भन्यो । साथै, ओभरस्टेसम्बन्धि कसुरमा थप ५० हजार जरिवानाको सजाय भएको थियो । भिसा नवीकरणका लागि उनलाई विभागले अध्यागमन नियमावलीमा भएको प्रावधानअनुसार २२ लाख ९८ हजार चार सय ३९ रुपैयाँ तिर्न भनेको थियो । तिर्न नसकेको भन्दै उनी कारागार चलान भए । कारागारबाटै सर्वाेच्च अदालतमा रिट दायर गरेकोमा सर्वाेच्चले गत ६ बैशाखमा उनलाई शुल्क र जरिवाना नतिरी थुनामुक्त गर्न आदेश दियो । न्यायाधीशहरू महेश शर्मा पौडेल, सुनिलकुमार पोखरेल र टेकप्रसाद ढुंगानाको इजलाशले  न्यायिक मनका आधारमा उनलाई भिसा दस्तुर मिनाहा गरेर रिहा गर्न परमादेश दिएको हो ।

जुल्सको मुद्दाको फैसलामा भनिएको छ, ‘कुनै पनि विदेशी नागरिकले भिसा नियमित नगरी गैरकानुनी रुपमा ओभरस्टे गरेको कारणले निजलाई लागेको दस्तुर र जरिवानाको रकम दाखिला गर्न इन्कार गर्नु वा नगर्नु र गर्न नसक्नु फरक अवस्था हुँदा यस्तो अवस्थालाई निर्णयकर्ताले निर्णय गर्दा यान्त्रिक रुपमा मात्र नहेरी प्रचलित कानूनमा रहेका व्यवस्था अनुसार विवेकसम्वत् र न्यायिक मनको प्रयोग समेत गर्नुपर्ने हुन्छ ।’ बृद्ध र रोगी भएको तथा आठ महिना जेलमा बसिसकेको भन्दै सर्वाेच्चले उनलाई दस्तुर र विगो पूर्ण रुपमा मिनाहा गर्न परमादेश दिएको हो । 

६ बैशाखमै पाकिस्तानी नागरिक अब्दुल निसारको पनि सबै शुल्क मिनाहा गरिएको थियो । उनी सन् २०१८ को अगष्टदेखि अवैध रुपमा नेपालमा बस्दै आएका थिए । उनलाई नौ लाख २३ हजार सात सय २७ विलम्ब शुल्क तोकिएको थियो । उक्त शुल्क नतिरी उनी जेलमा बसेर बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । उनलाई सात वर्ष जेलमा राख्दा सजाय चर्काे पर्ने भन्दै मिनाहा दिन भनिएको छ । 

पाकिस्तानकै इसाक अब्बासको मुद्दामा पनि सर्वाेच्चले उनको पक्षमा फैसला गरेको छ । सन् २०१८ को मार्चमा नेपाल आएक उनी भिसा नवीकरण नगरी नेपालमा बस्दै आएकोमा प्रहरीले पक्राउ गरेको थियो । उनलाई १० लाख ९३ हजार दुई सय २१ शुल्क र ५० हजार रुपैयाँ जरिवाना विभागले तोकेको थियो । सो नतिरी जेल बसेकोमा अदालतले उनको पनि सबै शुल्क मिनाहा गर्न भनेको छ । उनी साढे दुई वर्ष जेलमा बसिसकेको र शुल्क तिर्न नसक्ने अवस्थामा रहेको आधार देखाएर शुल्क मिनाहाको परमादेश भएको छ । 

बंगलादेशका नागरिक मिजनुर रहमानलाई विभागले पाँच लाख २३ हजार सात सय ३२ भिसा शुल्क र ४५ हजार जरिवाना तोकिएकोमा उनलाई पनि मिनाहाको परमादेश भएको छ ।  उनी सन् २०२० को जनवरीदेखि नेपालमा बस्दै आएका थिए । शुल्क तिर्न नसकेकाले न्यायिक मनको प्रयोग गरेर उनलाई मिनाहा गर्नुपर्ने फैसला छ । 

पाकिस्तानका मौजुम अब्दुल हाएलाई सात लाख ८१ हजार शुल्क तोकिएकोमा उनको पनि सर्वाेच्चको परमादेशका आधारमा मिनाहा भएको छ । उनी २०२८ को अगस्टदेखि अवैध रुपमा बस्दै आएकोमा २०१९ को अक्टोबरमा जेल परेका थिए । 

युक्रेनका इलिया साफ्रोनोभको पनि शुल्क र जरिवाना सर्वाेच्चले मिनाहा गरिदिएको छ । उनी २०२० को मार्चदेखि नेपालमा भिसाबेगर बस्दै आएकोमा उनलाई ८ लाख ६० हजार बिलम्बु शुल्क र ४५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । जरिवाना नतिरी उनले जेलमा बसेर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । सो रिटमा पनि बाँकी दस्तुर तिर्न नसक्ने हुनाले मिनाहा गरी सम्बन्धित देश फिर्ता पठाउन अध्यागमन विभागका नाममा परमादेश भएको छ । त्यस्तै, मलेसियाका नदरजा रामासामीको १६ लाख ९६ हजार तथा   बेलायतका जोन डेभिड स्किबिन्स्कीको ३२ लाख १२ हजार भिसा दस्तुर मिनाहाको फैसला गरेको छ ।  आइभरी कोष्टका एन्डा जिन डी डियु कौसीलाई पनि अदालतले भिसा दस्तुर मिनाहा गर्न भनेकोमा टिकट काट्ने पैसा नभएको भन्दै उनी तीन महिनादेखि अध्यागमन विभागको हिरासतमा छन् । केन्या र कंगो देशका नागरिकहरू पनि सोही शैलीमा हाल सर्वाेच्च अदालत गएका छन् । सर्वाेच्चले मानवियता हेरेर यसरी विदेशीको दस्तुर मिनाहा गर्दा अवैध रुपमा बस्ने, पक्राउ परेपछि दस्तुर नतिरी बन्दीप्रत्यक्षीकरणका माध्यमबाट छुट्ने प्रवृत्ति मौलाउन सक्ने अध्यागमन विभागका अधिकारी बताउँछन् । 

कतिपय देशका नागरिकहरूले शरणार्थी बनेर तेस्रो देश जान नेपाललाई ट्रान्जिट बनाउँदा अवैध सहरी शरणार्थीहरू बढीरहेका छन् । विभागका अनुसार हाल नेपालमा एक हजार अवैध शरणार्थी छन् । त्यसमध्ये धेरैजसो म्यानमार र पाकिस्तानका छन् । पर्यटकका रुपमा नेपाल आउने र भिसा फालेर उनीहरूले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयबाट परिचयपत्र लिने गरेका छन् । सोही परिचयपत्रका आधारमा वर्षाै अवैध बसेपछि तेस्रो देश जानका लागि भिसा दस्तुर शुल्क मन्त्रिपरिषद्बाटै मिनाहा गराउँदै आएका थिए । तर, नक्कली भुटानी शरणार्थी प्रकरणबाहिर आएसँगै यसरी अवैध शरणार्थीको शुल्क मिनाहा रोकिदै आएको छ । सोही कारण पनि उनीहरू बन्दीप्रत्यक्षीकरणमा जान थालेको हुनसक्ने अध्यागमन अधिकारीको आशंका छ । 

‘न्यायिक मन’का आधारमा ‘उन्मुक्ति’

सर्वाेच्चबाट जरिवाना छुट पाउने विदेशीमध्ये एक हुन् क्यानेडियन नागरिक रोबर्ट सेन्ट जुल्स । उनी आठ वर्षदेखि नेपालमा अवैध रूपमा बस्दै आएका थिए । पर्यटक भिसामा नेपाल आएका उनी फ्रेन्च भाषा पढाउनेलगायत गतिविधिमा संलग्न थिए । अध्यागमन विभागले उनलाई भिसा शुल्क र विलम्ब शुल्क गरी १६ हजार नौ सय ४५ तिर्न भन्यो । साथै, ओभरस्टेसम्बन्धी कसुरमा थप ५० हजार जरिवानाको सजाय भएको थियो । भिसा नवीकरणका लागि उनलाई विभागले अध्यागमन नियमावलीमा भएको प्रावधानअनुसार २२ लाख ९८ हजार ४३९ रुपैयाँ तिर्न भनेको थियो । तिर्न नसकेको भन्दै उनी कारागार चलान भए । कारागारबाटै सर्वाेच्च अदालतमा रिट दायर गरेकोमा सर्वाेच्चले गत ६ वैशाखमा उनलाई शुल्क र जरिवाना नतिरी थुनामुक्त गर्न आदेश दियो । न्यायाधीशहरू महेश शर्मा पौडेल, सुनीलकुमार पोखरेल र टेकप्रसाद ढुंगानाको इजलासले न्यायिक मनका आधारमा उनलाई भिसा दस्तुर मिनाहा गरेर रिहा गर्न परमादेश दिएको हो । जुल्सको मुद्दाको फैसलामा भनिएको छ, ‘कुनै पनि विदेशी नागरिकले भिसा नियमित नगरी गैरकानुनी रूपमा ओभरस्टे गरेको कारणले निजलाई लागेको दस्तुर र जरिवानाको रकम दाखिला गर्न इन्कार गर्नु वा नगर्नु र गर्न नसक्नु फरक अवस्था हुँदा यस्तो अवस्थालाई निर्णयकर्ताले निर्णय गर्दा यान्त्रिक रूपमा मात्र नहेरी प्रचलित कानुनमा रहेका व्यवस्थाअनुसार विवेकसम्मत र न्यायिक मनको प्रयोगसमेत गर्नुपर्ने हुन्छ ।’ 

अवैध शरणार्थीको संख्या हजार नाघ्यो
कतिपय देशका नागरिकले शरणार्थी बनेर तेस्रो देश जान नेपाललाई ट्रान्जिट बनाउँदा अवैध सहरी शरणार्थी बढिरहेका छन् । अध्यागमन विभागका अनुसार हाल नेपालमा एक हजार अवैध शरणार्थी छन् । त्यसमध्ये धेरैजसो म्यानमार र पाकिस्तानका छन् । पर्यटकका रूपमा नेपाल आउने र भिसा फालेर उनीहरूले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयबाट परिचयपत्र लिने गरेका छन् । सोही परिचयपत्रका आधारमा वर्षाैँ अवैध बसेपछि तेस्रो देश जानका लागि भिसा दस्तुर शुल्क मन्त्रिपरिषद्बाटै मिनाहा गराउँदै आएका थिए । तर, नक्कली भुटानी शरणार्थी प्रकरण बाहिर आएसँगै यसरी अवैध शरणार्थीको शुल्क मिनाहा रोकिँदै आएको छ । सोही कारण पनि उनीहरू बन्दी प्रत्यक्षीकरणमा जान थालेको हुन सक्ने अध्यागमन अधिकारीको आशंका छ ।

सुझावित समाचार