महोत्तरीमा ३३ केभिए प्रसारण लाइन विस्तारमा स्थानीयले अवरोध गरेका छन्। बस्तीछेउबाट विद्युत् प्रसारण लाइन विस्तार गर्न लागिएको भन्दै स्थानीयले अवरोध गरेका हुन्।
गौशाला नगरपालिका– १ इटाटारवासीमा रहेको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिमा विद्युत् विस्तार गर्न लाग्दा स्थानीयले रोकेका हुन्।
स्थानीयहरूले बस्ती हुँदै प्रसारण लाइन विस्तार गर्दा जोखिम बढ्ने भन्दै बिजुलीको पोल गाड्न आएका विद्युत् प्राधिकरणका कर्मचारीलाई रोकेका थिए। ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले तनावलाई बढ्न दिएका छैनन्।
विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख जगरनाथ झाले भने स्थानीयले भनेजस्तो जोखिम नरहेको बताएका छन्। उनले उद्योगलाई प्रसारण लाइन विस्तार गर्न लागेकोजस्तो देखिए पनि खासमा गौशालामा सबस्टेसन स्थापनाका लागि रहेको प्रतिक्रिया दिए।
स्थानीयले अवरोध गरेकाले हाल विस्तारको कार्य रोकिएको जानकारी दिए। तर, स्थानीयसँग समन्वय जारी राखिएको उनले बताए।

