सल्यानमा धान बालीमा किराको प्रकोप देखिएको छ। जिल्लाका श्रीनगर, जोगिदेउखोला, रेशमज्युला, स्यालापानी, चैबाङज्युला, दारिमज्युलाका किसानले लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको हो। किराको प्रकोपका कारण अहिले पाँच सय बढी किसान प्रभावित भएका छन्।
शारदा नगरपालिकाका किसान नवीना बस्नेतले खेतमा भएको धान किराले नष्ट पार्न थालेको बताए। ‘यस्तो प्रकोप गत वर्ष अलिअलि थियो, यो वर्ष त जताततै यस्तै प्रकोप देखिएको छ, धान सबै किराले खाएर सखाप पारेको छ, भर्खर रोपेका कलिला धानको पात खाएर बिरुवा नै सुक्न थालेको छ ,’ उनले भने।
धान रोपेको झन्डै एक महिनामा नै धानमा किराको प्रकोप देखिएको अर्का किसान गोपाल नेपालीले बताए। धान जोगाउन विषादी प्रयोग गरिरहेको भए पनि उल्लेख्य रूपमा सुधार हुन नसकेको उनको भनाइ छ। किसानले किरा नियन्त्रणका लागि सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन्।
शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका किसानले एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। अहिलेसम्म यी दुई पालिकाको धेरै स्थानमा किराको प्रकोप देखिए पनि अहिलेसम्म खासै क्षति भने नभएको कार्यालयका सूचना अधिकारी ईश्वरी नारायण घर्तीले जानकारी दिए।
खपटे किराको लार्भाले हरियो भाग खाँदा धानका पात सुक्दै जाने र वयस्क किराले धानको टुप्पा खाएर क्षति पुर्याउने उनको भनाइ छ। किराको प्रकोप नियन्त्रणका लागि कार्यालयले दुई पालिकाका प्रभावित ४० किसानलाई विषादी उपलब्ध गराएको घर्तीको भनाइ छ। किराको प्रकोप महामारीकै रूपमा नफैलिएकाले धान उत्पादनमा खासै असर नपर्ने जनाइएको छ। जिल्लामा ६ हजार २९ हेक्टर क्षेत्रमा धान खेती गरिएको छ।