मन्त्रालय नै खाली गरेर लुम्बिनीका मुख्यमन्त्रीसहित सबै मन्त्री काठमाडौंमा

शनिबार, २६ साउन, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री काठमाडौं पुगेका छन्। मन्त्रालय खाली गरी काडमाडौं पुगेको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्ने कार्यक्रम रहेको छ। प्रदेशमा बजेट माग गर्न उनीहरू काठमाडौं गएको बताएका छन्।

गत आर्थिक वर्षमा संघीय सरकारबाट समानीकरण अनुदानको रकम दुई अर्ब १० करोड ९५ लाख कम आएपछि प्रदेश सरकारले विकास निर्माणतर्फको भुक्तानी गर्नुपर्ने केही रकमसमेत दिन सकेको थिएन्। सो रकमसहित प्रदेशको विकास निर्माणका सम्बन्धमा कुरा राख्न मन्त्रीहरूको टोली काठमाडौं पुगेको एक मन्त्रीले बताए।

बुधबारदेखि नै काठमाडौं जान थालेका मन्त्रीहरू शुक्रबारसम्म सबै पुगिसकेका छन्। शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्रीले भेट गर्ने कार्यक्रमअनुसार सबै मन्त्री पुगे पनि भेटघाट कार्यक्रम दुई दिन पर सरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सबै मन्त्रीहरू काठमाडौंमा रहेको र आइतबार ११ बजे प्रधानमन्त्रीलाई भेट गर्ने कार्यक्रम तय भएको बताए।

लुम्बिनी प्रदेशमा हाल मुख्यमन्त्रीसहित नौ मन्त्री रहेका छन्। यहाँ मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन। १२ सदस्यीय बनाउने तयारीमा मुख्यमन्त्री रहे पनि कांग्रेस र एमालेको सहमतिअनुसार कांग्रेसबाट एक र साना दलबाट दुई मन्त्री नियुक्त हुन बाँकी छ। मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको अवस्थामा सबै मन्त्रालय खाली गरेर मन्त्रीहरू काठमाडौं लागेपछि आलोचना भएको छ। 

सुझावित समाचार