ओलम्पिकको मापदण्डभन्दा दुई केजी तौल बढी पाएपछि भारतीय खेलाडी विनेस फोगट स्वर्ण भिडन्तअघि नै अयोग्य
भारतीय महिला कुस्तीबाज विनेस फोगट पेरिस ओलम्पिक फाइनल खेलअघि नै अयोग्य भएकी छिन् । भारतीय महिला कुस्तीमा पहिलोपटक ओलम्पिकमा स्वर्ण पदक भिडन्तमा पुग्दा पनि विनेस इतिहास बनाउन चुकिन् । आफ्नो इभेन्टमा बढी तौल पाइएपछि उनी फाइनलका लागि अयोग्य भएको आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले उनलाई कुनै पनि पदक नदिने जनाएको छ । उनले ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । हरियाणाकी २९ वर्षीया उनको ओलम्पिकको अधिकतम मापदण्डभन्दा दुई केजी तौल बढी भएको पाएको छ ।
फाइनलमा स्थान बनाउने क्रममा उनले सन् २०२० को टोकियो ओलम्पिककी च्याम्पियन तथा विश्व नम्बर एक खेलाडी जापानिज यु सुसाकीलाई प्रिक्वार्टरफाइनलमा हराएकी थिइन् । उनले क्वार्टरफाइनलमा युक्रेनकी ओक्सना लिभाच र सेमिफाइनलमा क्युबाकी गुज्मानलाई हराइन् । स्वर्ण भिडन्तमा उनले अमेरिकी खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । तर, दुई केजी तौल बढी भएपछि उनी स्वर्ण भिडन्तअघि नै अयोग्य भइन् ।
मंगलबार तौल परीक्षण गर्दा उनी ५० केजीकी थिइन् । तर, साँझसम्म उनको दुई केजी तौल बढेको पाइएको थियो । त्यसपछि विनेसले रातभरि तौल घटाउने प्रयास गरेकी थिइन् । त्यसका लागि उनले जगिङ, स्किपिङ र साइक्लिङ गरेकी थिइन् । ओलम्पिकको नियमअनुसार छनोट र फाइनलअघि बिहान खेलाडीले आफ्नो तौल देखाउनुपर्छ । यी दुवै चरणमा तौलमा कुनै परिवर्तन नआउँदा मात्र खेलाडीले खेल्न पाउँछ । तर, विनेसले फाइनलको अघिल्लो दिन र बिहान आफ्नो तौल कायम राख्न सकिनन् ।
भारतीय ओलम्पिक कमिटीले यो घटनाप्रति दुःख व्यक्त गरेको छ । कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धेरै दुःखका साथ विनेस फोगाट महिला कुस्तीको ५० केजी तौल समूहमा अयोग्य घोषित भएको खबर सार्वजनिक गर्दछौँ । टोलीको रातभरको प्रयासका बाबजुद उनको तौल ५० केजीसम्म पु¥याउन सकिएन र बुधबार बिहान उनको तौल ५० किलोभन्दा केही ग्राम बढी पाइएको थियो ।’