त्रिविद्वारा चार दिनमै नतिजा प्रकाशन

०८१ वैशाखयता भएका सबै विषयको नतिजा सय दिनभित्र आइसक्ने

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

पुष्पराज जोशी परीक्षा नियन्त्रक, त्रिवि : यसपटक हामीले इतिहासमै पहिलोपटक समयभन्दा छिटो नतिजा प्रकाशन गर्न सकेका छौँ । कर्मचारीले १२ घण्टासम्म काम गर्नुभएको छ । अब भदौपछि सबै परीक्षा र नतिजा सिस्टममा आउँछन् ।

समयमै नतिजा प्रकाशन नगरेर विद्यार्थीलाई निराश र अन्योल बनाउँदै आएको त्रिभुवन विश्वविद्यालयले यसपटक नयाँ रेकर्ड राखेको छ । परीक्षा दिएको चार दिनमै नतिजा प्रकाशन गरेर त्रिविले सुधारको सम्भावना देखाएको हो । सोचेभन्दा छिटो नतिजा प्रकाशन भएपछि विद्यार्थी नै आश्चर्यमा परेका छन् ।

पछिल्लोपटक त्रिविले स्नातकोत्तर पहिलो वर्षको मानविकी संकायअन्तर्गत इतिहास, नेपाली, समाजशास्त्र, ग्रामीण विकास, राजनीतिशास्त्रलगायत सातवटा परीक्षा र एमबिएस प्रथमको एउटा परीक्षा सकिएको छोटो समयमै नतिजा प्रकाशन गरेको हो । परीक्षा नियन्त्रक कार्यालय बल्खुका अनुसार इतिहास, नेपाली, समाजशास्त्र, ग्रामीण विकासलगायत ६ वटा परीक्षाको नतिजा १३ साउन अर्थात् चार दिनमै प्रकाशन भएको हो । ती विषयको परीक्षा २ देखि ९ साउनसम्म सञ्चालन भएको थियो । 

त्यस्तै, स्नातकोत्तर तह प्रथम वर्ष राजनीतिशास्त्रको परीक्षा २ देखि ९ साउनसम्म सञ्चालन भएको थियो । यो विषयको नतिजा १९ साउनमा प्रकाशन भयो । छोटो समयमै प्रकाशन भएको अर्को नतिजा हो, एमबिएस प्रथम वर्षको । २ देखि ९ साउनसम्म सञ्चालन भएको एमबिएस प्रथम वर्षको परीक्षाको नतिजा मंगलबार मात्रै प्रकाशन भएको छ । नतिजा समयमै प्रकाशन हुँदा विद्यार्थीलाई माथिल्लो तहमा अध्ययनको ढोका खुलेको छ । ‘यसपटक हामीले इतिहासमै पहिलोपटक समयभन्दा छिटो नतिजा प्रकाशन गर्न सकेका छौं । कर्मचारीले १२ घण्टासम्म काम गर्नुभएको छ,’ परीक्षा नियन्त्रक पुष्प जोशीले भने, ‘अब भदौपछि सबै परीक्षा र नतिजा सिस्टममा आउँछन् ।’ छोटो समयमै प्रकाशन गरिएका नतिजाको परीक्षामा एक हजार एक सय हाराहारी विद्यार्थी सामेल थिए । तर, जनशक्ति व्यवस्थापन र कार्यालय समयभन्दा बाहेकको समयमा पनि काम गरेकाले छोटो समयमै नतिजा प्रकाशन गर्न सम्भव भएको हो । परीक्षा नियन्त्रक कार्यालयले एक साताभित्र गत वर्षका बाँकी परीक्षा र एमबिए प्रथम वर्ष, एमएड प्रथम वर्ष र एकवर्षे बिएडको नतिजा प्रकाशनको तयारी गरेको छ । 

त्रिविका अनुसार ०८० भदौमा भएको स्नातक तह दोस्रो र तेस्रोको परीक्षाको नतिजा असोजभित्रै प्रकाशन गरिनेछ । यी नतिजा प्रकाशन गरिसकेपछि पुराना नतिजा प्रकाशनको काम सकिने र नयाँ क्यालेन्डरअनुसार काम गर्न सहज हुने परीक्षा नियन्त्रक जोशीले बताए । उनका अनुसार अब विद्यार्थीले परीक्षा दिएको सय दिनभित्र नतिजा प्राप्त गरिसक्नेछन् । ०८१ वैशाखयता भएका सबै विषयको नतिजा सय दिनभित्र आइसक्नेछ । स्नातक तह दोस्रो, तेस्रो र पहिलो वर्षको परीक्षा दसैँअघि नै सञ्चालन हुनेछ । 

परीक्षा नियन्त्रक कार्यालयले परीक्षाफल समयमै प्रकाशन गर्न कर्मचारीलाई १२ घण्टे ड्युटी तोकेको छ । बिहान ६ देखि बेलुकी ६ बजेसम्म ११९ जना कर्मचारीले नतिजा प्रकाशन सम्बन्धमा गृहकार्य गर्दै आइरहेका छन् । कर्मचारीहरूलाई ६० प्रतिशत भत्ताको व्यवस्था गरिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । उनका अनुसार यसअघि कर्मचारीले काम गर्ने समय कम हुँदा समयमै नतिजा प्रकाशन हुन सकेको थिएन । ‘हामीलाई अझै पनि जनशक्ति कम छ, आधाभन्दा कम कर्मचारी छन्, एउटा कर्मचारी आएन भने विकल्प छैन,’ उनले भने, ‘अब छिट्टै सफ्टवेयर सिस्टम व्यवस्थित बनाउँदै छौँ ।’ 

See More On

सुझावित समाचार