वीरगन्ज महानगरपालिका– २७ उदयपुर घुर्मीका ७२ वर्षीय लक्ष्मी यादवले काँधको लठ्ठीमा दुवैतिर झुन्ड्याएर गाउँगाउँ घुमेर दही बिक्री–वितरण गर्दै आएका छन्। उमेरले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका लक्ष्मी विगत १० वर्षदेखि आफ्नो घरको दही बिक्री गर्न दैनिक १० किलोमिटर हिँडेर गाउँगाउँमा पुग्ने गरेको सुनाउँछन्।
घरमा दुईवटा भैँसी पालेका उनले प्रतिकिलो १८० रुपैयाँको दरले दही बिक्री गर्दै आएका छन् । गाउँगाउँमा दही बिक्री गर्न लक्ष्मी काँधमा दहीको भाँडो, हातमा लठ्ठी र खाली खुट्टाको भरमा दैनिक १० किलोमिटर हिँड्ने गरेका छन्। अहिले दैनिक रूपमा आफ्नो घरमा भन्दा पूर्वी बाराको परवानीपुर गाउँपालिका र वीरगन्ज महानगरपालिका– २१ को पटेलनगरमा घुमेर दही बिक्री गरिरहेको उनले सुनाए।
घरमा जमाएको दही आफ्नो काँधमा राखेर दुई नदिया (दही राख्ने भाँडो)मा अनुमानित १५ केजीजति राखेर गाउँगाउँमा पुगेर दही बिक्री गर्दै आएको यादवले बताए। ‘गाउँमा मजस्ता धेरैले भैँसी पालेका छन्, उनीहरू घरबाट नै दुध बिक्री गर्छन्,’ यादवले भने, ‘तर, म दुधलाई दही बनाएर गाउँगाउँ पुगेर बिक्री गर्ने गरेको छु।’
घरमा दुध खरिद गर्न आउनेले कम मूल्य तिरेर दुध किन्ने गरेका छन्। तर, दही बनाएर बेच्दा राम्रो आम्दानी हुने भएकाले गाउँगाउँमा पुगेर दही बिक्री गर्ने गरेको उनले बताए। लक्ष्मीका बुबा वासुदेव यादवले पनि पहिले यही काम गर्दै आएका थिए। बुबाको निधन भएपछि आफूले बुबाको कामलाई निरन्तरता दिएर सोही काम गरिरहेको लक्ष्मीले बताए। गाउँगाउँ हिँडडुल गरी दही बिक्री गर्दा आफ्नो स्वास्थ्य अवस्था पनि राम्रो रहेको लक्ष्मी बताउँछन्। यो काममा लागेदेखि उनी दैनिक करिब १० किलोमिटर हिँडडुल गर्छन्।
‘हिँडडुल गरुन्जेल दही बेच्छु’
लक्ष्मी आफ्नो गाउँ घुमेर दही बेच्ने एक्लो व्यक्ति भने होइनन्। गाउँमा अरू एक–दुईजना पनि गाउँगाउँ घुमेर दही बेच्छन्। आफ्नो घरमा जमाएर बनाउने गरिएको दही शुद्ध हुने भएकाले एकचोटि खानेहरूले पटकपटक किन्ने गरेकाे यादवले बताए। उनको स्वास्थ्य अवस्था अहिलेसम्म राम्रो भएकाले घुमेर दही बिक्री गर्न कुनै समस्या छैन। आगामी दिनमा पनि स्वास्थ्य अवस्थाले साथ दिएर हिँडडुल गर्न सक्ने अवस्था रहेसम्म दही बिक्री गर्ने काम नछाड्ने उनी बताउँछन्।
दही बेच्न लक्ष्मी दैनिक बिहान ६ बजे घरबाट निस्कने गर्छन् । उनी घरबाट निस्केको दुई घन्टासम्म लगातार हिँडेर आफ्नो दही बिक्ने गाउँमा पुग्छन्। गाउँमा दुई घण्टा घुमेर दही सबै बिक्री भएपछि पुनः हिँडेरै उनी मध्याह्न १२ बजेसम्म घर पुग्ने गरेको बताउँछन्। घर पुगेर खाना खाएर एकछिन आराम गरेपछि भैँसी चराउन निस्कने गरेका छन्।
भैँसीले दुध दिएसम्म र आफूले सकेसम्म नियमित रूपमा गाउँ घुमेर दही बिक्री गर्ने उनी बताउँछन् । उनी आफू यो पेसामा आबद्ध भए पनि छोराहरू पढाइ र जागिरमा छन्।