अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी सम्भावित राष्ट्रपतीय उम्मेदवार कमला ह्यारिसले मिनिसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो उपराष्ट्रपति उम्मेदवार चयन गरेकी छिन् ।
ह्यारिसले औपचारिक रूपमा घोषणा नगरेको भए पनि अमेरिकी मिडियाले उच्च स्रोतलाई दाबी गरेर समाचार प्रकाशित गरेका छन् । साथै दुईजना मंगलबार फिलाडेल्फियामा हुने र्यालीमा देखिने बताइएको छ । नेब्रास्कामा जन्मिएका ६० वर्षीय वाल्ज मिनिसोटा राजनीतिमा आउनुअघि आमी नेसनल गार्डका सदस्य तथा शिक्षाविद् थिए ।
१७ वर्षको उमेरमा संघीय सरकारको रिजर्भ फोर्स ‘आर्मी नेसनल गार्ड’मा आबद्ध भएका वाल्ज २४ वर्ष सेवारत रही घर फर्किए । त्यसपछि मात्र उनी विद्यालय शिक्षक बनेका थिए । पछि उनी राजनीतिमा प्रवेश गरे र सन् २००६ मा मिनिसोटा राज्यबाट कंग्रेस सदस्य चुनिए । लगातार १२ वर्ष सांसद रहेका उनी सन् २०१९ मा सोही राज्यका गभर्नर चुनिए । तर, उनको कार्यकाल कोभिड महामारी र सुरक्षाकर्मीबाट जर्ज फ्लोयडको हत्याका कारण प्रभावित भयो । तर, वाल्ज २०२२ मा फेरि गभर्नरको चुनाव जित्न सफल भए ।
यसअघि देशभर त्यति चर्चामा नआउने वाल्जले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हालै एक कार्यक्रममा असामान्य र ‘विचित्र !’ भनेपछि उनी चर्चामा आएका थिए । उनले निरन्तर यही शब्द प्रयोग गरेर रिपब्लिकनमाथि धाबा बोलेपछि कमला ह्यारिसले पनि उनकै शब्द प्रयोग गरेकी थिइन् । प्रस्टवक्ता वाल्जले स्वतन्त्र र परम्परागत मतदातालाई आकर्षित गर्न सक्ने अनुमान छ ।
उपराष्ट्रपति कमला ह्यारिसले वाल्जसँग ‘रसायन’ मिल्नु उनको चयनका लागि महत्वपूर्ण कारण बनेको ह्यारिसको चुनावी टिमले बताएको छ । उपराष्ट्रपति कमला ह्यारिसले गभर्नर टिम वाल्जलाई उपराष्ट्रपति चुनेपछि अन्य सम्भावित उप–राष्ट्रपतिका दाबेदारलाई कल गरेर जानकारी गराएको यस विषयसँग जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ । उनले आफ्नो सहयात्री रूपमा छनोट नभएकालाई आफ्नो छनोटबारे जानकारी गराएर यस प्रक्रियामा भाग लिएकोमा धन्यवाद दिएको समाचारमा उल्लेख छ । वाल्जका अतिरिक्त गभर्नर जोस सापिरो र सेन मार्क केलीले ह्यारिसको उपराष्ट्रपति उम्मेदवार बन्न ह्यारिससँग छलफल गरेका थिए ।