काजकिस्तानका ग्रान्ड मास्टर अजिब क्याक्ट काजिलेले ४५औँ चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई प्रशिक्षण गर्ने भएका छन् । नेपालले पहिलोपटक ओलम्पियाडमा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण व्यवस्था गरिएको हो ।
विश्वका एक सय ९१ राष्ट्रहरूको सहभागिता रहने ओलम्पियाडमा नेपालको पुरुष टोली समूह ‘डी’मा छ । गत वैशाखमा भएको २४औँ राष्ट्रिय च्याम्पियनसीप तथा ओलम्पियाड छनोटमा झापाका २०१९ रेटड राजन सुवेदी, २००५ रेटेड सि एम सुशुरत दाहाल, काभ्रेका फिडे मास्टर २०९० रेटेड क्षितिज भण्डारी, रौतहटका २०३९ रेटेड रूपेश जैसवाल र सिएम २०८२ रेटेड विवेक थिङले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
नेपाली खेलाडीमध्ये विवेक सर्वाधिक रेटिङ प्राप्त खेलाडी हुन् । महिला राष्ट्रिय च्याम्पियनमा उत्कृष्ट भएका पाँचभित्र काठमाडौंकी १७०८ रेटेड सिन्दिरा जोशी, झापाकी १७४६ रेटेड कृतिसारा अधिकारी, कास्कीकी १६८४ रेटेड पूजा भण्डारी, मोरङकी १६७८ रेटेड शान्ति धिमाल र काठमाडौकी यू–१६ राष्ट्रिय च्याम्पियन १६४० रेटेड रिया श्रेष्ठले क्लोज क्याम्पमा सहभागिता जनाउनेछन् ।
ओलम्पियाडमा नेपाल एक सय १५औँ वरीयतामा
ओलम्पियाडको पुरुषतर्फ नेपाल एक सय १५औँ र महिलामा एक सय १७औँ स्थानमा रहेको महासंघले जनाएको छ । पुरुषतर्फ अमेरिकाले शीर्ष स्थानमा छ । प्रतिस्पर्धामा भारत दोस्रो, चीन चेस्रो र उज्वेकिस्तानले चौथो वरीयता पाएका छन् । नेदरल्यान्ड्सको टोली पाँचौँ वरीयतामा छ । महिलामा जर्जियालाई शीर्ष वरीयतामा राखिएको छ । भारत दोस्रो स्थान, पोल्यान्ड तेस्रो, चीन चौथो र अजरबैजानलाई पाँचौँ वरीयता प्रदान गरिएको छ ।