बागलुङको ऐतिहासिक धार्मिक शक्तिपीठ बलेवा भैरवस्थान मन्दिरमा हरेलो मेला गरिने भएको छ । बागलुङ नगरपालिका– १२ मा रहेको मन्दिरपरिसरमा तेस्रो हरेलो मेला गरिने भएको हो । ‘भैरवस्थान मन्दिरको दर्शन–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आगामी भदौ ४ गते मंगलबार मेलाको आयोजना गरिएको आयोजक भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए ।
मेलाको उद्घाटन गर्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष एवं चन्द्रप्रसाद ढकाल आउने भएका छन् । प्रसिद्ध भैरवस्थान मन्दिरको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक गरिमालाई अभिवृद्धि गर्ने गरी यसको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।
बागलुङ नगरपालिका– १०, भकुन्डे– ११, रायडाँडा– १२, अमलाचौर– १३, पैयुँपाटा– १४ नारायणस्थान र जैमिनी नगरपालिका– १ को कोटको रूपमा समेत रहेको मन्दिरपरिसरमा हरेक वर्ष भदौ महिनाको पहिलो मंगलबार मेला लाग्ने गर्दछ । मेलामा भकुन्डेको झाम्रे, रायडाँडाको भजन, अमलाचौरको गन्धर्व गीत प्रस्तुति, पैयुँपाटाको नौमती बाजा, नारायणस्थानको लाखे र कुश्मिसेराको सालैजो विशेष प्रस्तुतिको रूपमा रहनेछ । मेलामा खुला छेलो प्रतियोगिताका साथै ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहने बताइएको छ ।
मेलामा १३ लाख रुपैयाँ आम्दानी र १० लाख ९२ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलाका लागि बागलुङ नगरपालिकाको विशेष सहयोग रहेको छ । मेलामा यहाँको ऐतिहासिक तरबारनाच पनि प्रस्तुत गरिने मेला मूल आयोजक समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए । भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । मेलाको अवसरमा ३५ हजार आन्तरिक पर्यटकले भैरवस्थान मन्दिरको दर्शन गर्ने बताइएको छ । बाइसे–चौबिसे राज्यको समयमा सन् १७८० मा स्थापना भएको भैरवस्थान मन्दिर नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यभित्र पर्दछ ।