करिब ४० हजार विद्यार्थी होस्टेलमा, महानगरले अनुगमन गर्ने

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको अनुगमन समितिले करिब ४० हजार विद्यार्थी होस्टेलमा गरेकाे भन्दै अनुगमन गर्ने भएको छ । समितिले होस्टेल सञ्चालकहरूलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ । 

सोमबार समितिका संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले छात्रावासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिबद्ध हुन आग्रह गरेको हो । 

त्यसक्रममा उपप्रमुख डंगोलले भनिन्, ‘होस्टेलको अवस्था, सेवासम्बन्धी व्यवस्थासँगै होस्टेलमा बस्ने छात्राछात्र तथा अन्य को होस्टेलमा बसेको हो, व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी हुनेछ ।’ समूह विभाजन गरेर अनुगमन गर्ने उनले बताइन् । उनले  होस्टेल संघको तथ्यांक उद्धृत गर्दै भनिन्, ‘उहाँहरू ४० हजार विद्यार्थी होस्टेलमा बसेको भनिरहनुभएको छ । यत्रो ठूलो संख्यामा मानिस बसोवास गर्ने ठाउँको अवस्था र वितरण हुने सुविधाको निगरानी अनिवार्य भएको छ।’ 

‘चारजना बस्न मिल्ने कोठामा २०औँ जनालाई राखिएको छ। आवासीय भवनलाई व्यावसायिक बनाइएको छ । यसले जोखिम सिर्जना गरेको छ,’ छलफलमा वडा नं. १० का सदस्य सतिश तण्डुकारले भने, ‘रातको १० बजेपछि पनि होस्टेलमा आवागमन भइरहन्छ । त्यसपछि को आउँछ, को जान्छ? किन आउँछ, किन जान्छ? थाहा हुँदैन ।’ 

छलफलमा वडा नं. २९ का सदस्य अनिल श्रेष्ठले भने, ‘होस्टेल बिक्री गर्ने रोग थियो, यो महारोग भइसक्यो । घर लिने, निःशुल्क विद्यार्थी भर्ना गर्ने, त्यही संख्या देखाएर महँगाेमा बिक्री गर्ने भएपछि विकृति भयो ।’ शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा विद्यार्थीहरूको हित जान्नका लागि भए पनि अनुगमन गर्नुपर्ने अवस्था आएको बताउँछन्। 

छात्रावास (होस्टेल) लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्रावासमा बस्ने विद्यार्थी र सञ्चालकको अधिकतम हित गराउन छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड, २०८० जारी गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) को खण्ड (ज) र दफा १०२ को (२) लाई आधार मानेर काठमाडौं महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड जारी गरिएको हो । 

मापदण्डबमोजिम महानगरपालिकाभित्र छात्रावास (होस्टेल) सञ्चालन गर्न कार्ययोजना, प्रतिबद्धतासहितको निवेदन, वडाको सिफारिस, छात्रावास राख्ने भवनको नक्सा र नक्सापास प्रमाणपत्र, निर्माण सम्पन्न प्रमाणपत्रसहित कागजातसहित दर्ता प्रक्रियामा जानुपर्छ । आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपुर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्छ । स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ । 

सुझावित समाचार