राष्ट्र संघले मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान गरेको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त भोल्कर टर्कले सोमबार मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान गरेका हुन् । ‘म मध्यपूर्वमा व्यापक द्वन्द्वको बढ्दो जोखिमप्रति चिन्तित छु । तनाव रोक्न सबै पक्षलाई तुरुन्तै कदम चाल्न आग्रह गर्छु,’ टर्कले भने ।
इरानले सोमबार तेहरानमा प्यालेस्टिनी सशस्त्र समूह हमासका राजनीतिक नेता इस्माइल हानियेको गतहप्ता भएको हत्यामा इजरायललाई दण्ड दिने ‘कानुनी अधिकार’ रहेको बताइरहेका वेला टर्कको भनाइ आएको हो ।
हानियेको हत्याबारे इजरायलले कुनै टिप्पणी गरेको छैन, तर बेरुतमा आक्रमण गरेको स्वीकार गरेको छ । बेरुतमा भएको आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्रको मृत्यु भएको थियो । अहिले इजरायल र लेबनानमा हिजबुल्लाहबीच दैनिक सीमापार गोलीबारी भइरहेको छ ।
‘पहिले नै विगत १० महिनामा अधिकांश महिला र बालबालिकाले बम र बन्दुकका कारण असहनीय पीडा सहेका छन्,’ टर्कले भने, ‘यो स्थितिलाई रसातलमा जानबाट रोक्न सबैथोक गरिनुपर्छ ।’
बाइडेनले सुरक्षा प्रमुखलाई भेट्ने
तेहरानमा हमास नेताको हत्याको प्रतिशोधमा इजरायलमाथि इरानको आक्रमणको आशंका बढेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग संकटवार्ता गर्दै छन् । मध्यपूर्वमा अवस्थालाई पूर्ण रूपमा युद्धमा रूपान्तरण हुनबाट रोक्ने उद्देश्यले कूटनीतिको हिस्साका रूपमा बाइडेनले जोर्डनका राजा अब्दुल्ला द्वितीयसँग फोनवार्ता गरेका छन् । इरानले हमासका राजनीतिक प्रमुख इस्माइल हानियेको हत्याप्रति सोमबार चाँडै प्रतिक्रिया दिन सक्ने रिपोर्ट सार्वजनिक भएपछि अमेरिकाले इजरायलको समर्थनका लागि यस क्षेत्रमा थप लडाकु जेट र युद्धक विमान तैनाथ गरेको छ ।
बाइडेनले ‘मध्यपूर्वमा घटनाक्रमबारे छलफल गर्न’ राष्ट्रिय सुरक्षा टोलीसँग भेट्ने ह्वाइट हाउसले जनाएको छ । बैठक वासिंटनको समयानुसार सोमबार दिउँसोे निर्धारण गरिएको छ ।