काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत सोमबारको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
नेपालले मल्दिभ्सलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित गर्यो। नेपाल समूह चरणको अंक तालिकामा दोस्रो स्थानमा छ।
नेपालले यसअघि श्रीलंका र भारतलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो। नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ। इरान अंक तालिकाको तेस्रो स्थानमा छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै सेमिफाइनलमा इरानलाई पराजित गर्नेमा विश्वास व्यक्त गरे। नेपाली टोलीकी कप्तान अरुण शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरानविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन्।
अर्को सेमिफाइनलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। भारत लिग चरणमा शीर्ष स्थानमा छ भने श्रीलंकाले चौथो स्थानमा रहेर अन्तिम चारमा स्थान पक्का गरेको छ।
मंगलबार दिउँसो ३ बजे सुरु हुने पहिलो सेमिफाइनलमा श्रीलंकाले भारतको सामना गर्नेछ भने साँझ ५ः१५ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ। रासस