नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष एवं निर्जीवन बिमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लब इन्टरनेसनलद्वारा सम्मानित भएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लबले मल्ललाई ‘कर्पोरेट सोसियल अवार्ड’बाट सम्मान गरेको हो ।
व्यावसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदरस्वरूप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको लायन्स इन्टरनेसनलले जनाएको छ । उद्योग वाण्ज्यि महासंघका अध्यक्ष चन्द्र ढकाल एवं लायन्स इन्टरनेसनलका पदाधिकारीले मल्ललाई संयुक्त रूपमा सम्मान गरेका हुन् ।
अध्यक्ष मल्लले कर्पोरेटसँगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् । सम्मानपछि मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए । लायन्सजस्ता संस्थाले जलवायु परिवर्तनविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ ।
मल्लले भने, ‘जलवायु परिवर्तनको असर नेपालमा पनि परिरहेको छ । लायन्सजस्ता संस्थाको संगठन बृहत् छ, यसलाई जलवायु परिवर्तनविरुद्धको गतिविधिमा संलग्न गराउन आवश्यक छ ।’क्लबले अध्यक्ष मल्लसहित कला र खेलकुद एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेहरूलाई पनि सम्मान गरेको थियो ।