गोर्खा ब्रुअरीको थप ९.९४ प्रतिशत सेयर स्वामित्व काल्सबर्ग ग्रुपले खरिद गर्ने भएको छ । यससँगै अब गोर्खा ब्रुअरीमा काल्र्सबर्गको सेयर स्वामित्व ९९.९४ प्रतिशत पुग्नेछ । ग्रुपले काल्र्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेडमा बाँकी रहेको ३३.३३ प्रतिशत सेयर आफ्नो साझेदार सिंगापुर होल्डिङ्समार्फत खरिद गर्ने सम्झौता भएको जनाएको छ । काल्र्सबार्ग साउथ एसिया काल्र्सबर्ग इन्डिया प्रालि र गोर्खा ब्रुअरीको होल्डिङ कम्पनी हो ।
यस सम्झौताअनुसार काल्र्सबर्ग साउथ एसियाले गोर्खा ब्रुअरीमा थप ९.९४ प्रतिशत सेयर खरिद गर्ने र काल्र्सबर्ग साउथ एसियाको बाँकी सेयरहरू ग्रुपले खरिद गर्नेछ । प्रस्तावित कारोबारको सम्झौतापछि काल्र्सबर्गले भारतमा रहेको सम्पूर्ण व्यापारको शतप्रतिशत स्वामित्व प्राप्त गर्नेछ । साथै, काल्र्सबर्ग साउथ एसियामार्फत नेपालमा रहेको गोर्खा ब्रुअरीको ९९.९४ प्रतिशत सेयर स्वामित्व पनि प्राप्त गर्नेछ । प्रस्तावित कारोबारको कुल खरिद मूल्य ७४ करोड ४० लाख अमेरिकी डलर (करिब एक खर्ब रुपैयाँ) रहेको छ ।
प्रस्तावित कारोबार सन् २०२४ को अन्तिम त्रैमाससम्ममा सम्पन्न गरिसक्ने भनिएको छ । कम्पनीले सम्झौतासम्बन्धी सर्तहरू पूरा गर्नुका साथै नेपालमा कारोबार हुँदा पालना गर्नुपर्ने सरकारी स्वीकृतिका आवश्यक विषय पनि समावेश गरेको जनाएको छ । प्रस्तावित कारोबारलाई भारतको प्रतिस्पर्धा आयोग (सिसिआई)ले अनुमति दिइसकेको छ ।
काल्र्सबर्ग ग्रुपका प्रमुख कार्यकारी अधिकृत जाकोब आरुप एन्डरसनले आफ्ना साझेदारसँग मैत्रीपूर्ण सम्झौतामा पुग्न सक्षम भएको बताए । दुईवटा महत्वपूर्ण एसियाली व्यवसायहरूमा पूर्ण नियन्त्रण हासिल गर्न सकेको बताउँदै उनले भारतमा व्यापार विस्तार गर्नु कम्पनीको प्रमुख प्राथमिकता रहेको बताए ।