झरना हेर्न जाँदा ख्याल गरौँ

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

पछिल्लो समय झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रको रूपमा विकसित हुँदै गइरहेको छ । पहाडबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल र चराचुरुंगीको चिरबिर आवाज र दृश्यले धेरैको मन लोभ्याउँछ । गर्मी छल्नका लागि चिसो पानीमा नुहाउने र फोटो खिच्दै रमाउने युवायुवतीको संख्या ठूलो छ । नेपालका पहाडी जिल्लामा निकै मनमोहक, आकर्षक र सुन्दर झरना छन् । कतिपय झरनामा घाम लागेको समय इन्द्रेणी देखिन्छ ।

काठमाडौंनजिकमा पनि प्रशस्तै झरना छन् । एकै दिनमा घुमेर फर्किन सकिन्छ । काठमाडौंमा झोर, सुन्दरीजल, झक्तपुरको मानपोखरी, ललितपुरको सिम्बा झरना पर्यटकहरूको आकर्षणको केन्द्र हुन् । मकवानपुरको मोहिनी, नुवाकोटको लखनचुली, लाउके, काभ्रेको तिनधारे, रसुवाको भागे झरनालगायत गन्तव्य पनि उपत्यकावासी र आपसपासका जिल्लाका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

झरनाको चिसो पानीमा नुहाउने सोख धेरैलाई हुन्छ । प्रकृतिसँग समय बिताउँदा फ्रेस महसुस हुने भएकाले पर्यटकहरू झरना हेर्नका लागि लालायित हुन्छन् । युवायुवती फोटो खिच्ने र भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने अनि रमाउने गर्छन् । तर, हामी झरना घुम्न गएको पर्यटकको पोखरीमा डुबेर मृत्युको दुःखद समाचार पनि सुनिरहेका हुन्छौँ । त्यसैले झरना हेर्न जाँदा सचेत हुनैपर्छ । 

ध्यान दिनुपर्ने कुरा 

  • झरना देख्दैमा नुहाउन हतारो गर्नुहुँदैन । राम्ररी जानकारी लिएर सुरक्षित ठाउँ पहिचान गरेपछि मात्रै नुहाउन सकिन्छ । 
  • स्थानीय सरकारले वाल, रेलिङ आदि लगाउने, झरनामा निश्चित भ्यु प्वाइन्ट तय गर्ने, कुन ठाउँमा नुहाउन मिल्छ र कुन ठाउँमा मिल्दैन भनेर पर्यटकले बुझ्ने गरी बोर्ड राखिदिने गर्नुपर्छ ।
  • झरनाको छेउमा जाँदा केही कुरामा विशेष ध्यान दिनुपर्छ । धेरै उत्साहित भएर मानिस झरनाको नजिकै पुग्छन् र चिप्लिन्छन् । तसर्थ, झरनालाई केही दूरीमा रहेर नियाल्नु राम्रो हुन्छ ।
  • झरनाको धेरै नजिक जानुहुँदैन । त्यहाँका ढुंगा चिप्ला हुन्छन् । जसकारण चिप्लिएर दुर्घटना हुन सक्छ । मानिस खसेर खोलामा पनि पुग्न सक्छन् । एक्लै झरना हेर्न जानु राम्रो हुँदैन । समूहमा जाँदा केही समस्या परे पनि साथीभाइले सहयोग गर्न सक्छन् ।
  • खोलानजिकै भएका झरनामा जाँदा लाइफ ज्याकेट पनि बोकेर जानु राम्रो हुन्छ । केही कारणले खोलामा फसियो भने पनि बाँच्न सहज हुन्छ । 
  • झरना भिरमा हुन्छ । त्यहीकारण, पहिरो पनि आउन सक्छ । यस विषयमा सचेत रहनुपर्छ । स्थानीय निकायले पनि पर्यटकलाई मौसमबारे तथा सम्भावित अवस्थाबारे पूर्वसूचना दिएर पहिल्यै सतर्क गराउनुपर्छ ।
See More On

सुझावित समाचार