जनताका समस्या बुझ्न र संसद्मा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्न रास्वपाका केन्द्रीय नेता र सांसदले सार्वजनिक यातायातमा यात्रा थालेका छन् । दुईदिने बन्द कार्यशाला शनिबार सम्पन्न भएपछि नेता र सांसद निजी सवारीसाधन पार्टी कार्यालयको पार्किङमा थन्क्याएर सार्वजनिक सवारीको यात्रामा निस्केका हुन् ।
दोस्रो दिनको कार्यशाला सुरु हुने वेला सभापति रवि लामिछानेले सहभागीहरूलाई समापनको वेला सरप्राइज दिने बताएका थिए । ‘सभापतिले सबैलाई साँझ सरप्राइज दिन्छु भन्नुभएको थियो । साँझ सभापतिले निजी सवारीसाधन पार्किङमा छाड्नू’ भन्नुभयो । र, उहाँ (आफू) पनि निजी सवारी पार्किङमा छाडेर सार्वजनिक यातायातमा निस्कनुभयो,’ कार्यबाहक प्रवक्ता मनीष झाले भने, ‘पार्टी कार्यालयको पार्किङमा निजी सवारी (गाडी, बाइक, स्कुटर) राखेर हामी सार्वजनिक यातायातमा निस्क्यौँ ।’
सार्वजनिक यातायातमा यात्रुका साथै चालक र सहचालकसँग समस्या र समाधानका उपायबारे नेता तथा सांसदले छलफल गर्नेछन् । पाँच दिनसम्म सार्वजनिक यातायात चढ्ने अभियान जारी रहने र त्यसपछि सर्वसाधारणको समस्या, गुनासो समेटेर संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने सांसदसमेत रहेका झाले बताए ।
हामीले सार्वजनिक महत्वको प्रस्तावमा गृहकार्य गरिरहेका छौँ । त्यसका लागि यथार्थ के छ, बुझ्नुपर्छ । यथार्थ नबुझी पहिले यस्तो थियो भन्ने आधारमा निष्कर्षमा पुग्न सकिँदैन । त्यसले अहिलेको अवस्था बुझ्न सार्वजनिक यातायातमा चढ्न थालेका हौँ । अभियानका मुख्य तीन लक्ष्य छन् । आमनागरिकसँग नजिक हुने, नागरिकको दैनिकी बुझ्ने र सार्वजनिक यातायातको सुधारका लागि संसद्मा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने लक्ष्य हुन् ।
मनीष झा, कार्यवाहक प्रवक्ता, रास्वपा
‘सार्वजनिक यातायात कुनै पनि देशको नागरिकको दैनिकीको मेरुदण्ड नै हो । सार्वजनिक यातायात राम्रो छैन भने त्यो देशको अर्थतन्त्र राम्रो मानिँदैन । अर्थतन्त्रको बहुआयाममध्ये यातायात पनि एक हो,’ झाले भने, ‘जुन देशमा सार्वजनिक यातायात राम्रो छ, त्यो देशका नागरिकको दैनिकी र प्रतिव्यक्ति आय पनि राम्रो हुन्छ ।’
यातायात क्षेत्र सुधार्न सार्वजनिक बहस र सार्वजनिक महत्वको प्रस्तावमा काम सुरु गरेको उनले बताए । ‘हामीले सार्वजनिक महŒवको प्रस्तावमा गृहकार्य गरिरहेका छौँ । त्यसका लागि यथार्थ के छ, बुझ्नुपर्छ । यथार्थ नबुझी पहिले यस्तो थियो भन्ने आधारमा निष्कर्र्षमा पुग्न सकिँदैन । त्यसले अहिलेको अवस्था बुझ्न सार्वजनिक यातायातमा चढ्न थालेका हौँ,’ उनले भने, ‘अभियानका मुख्य तीन लक्ष्य छन् । आमनागरिकसँग नजिक हुने, नागरिकको दैनिकी बुझ्ने र सार्वजनिक यातायातको सुधारका लागि संसद्मा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने लक्ष्य हुन् ।’
समस्यामा परेका नेता तथा सांसदले भने अर्को महिना अभियानमा सहभागी हुन सक्ने सुविधा रास्वपाले दिएको छ । ‘कसैको स्वास्थ्यको कारण, परिवारमा भैपरी आउने अवस्थामा निजी सवारी प्रयोग गर्न पाउनुहुनेछ । अहिले सकिँदैैन भने भदौमा गर्छु भन्दा पनि हुन्छ,’ झाले भने ।
गत सोमबारको बैठकमा रास्वपा सांसद डा. तोसिमा कार्कीले ‘विपत् व्यवस्थापनमा पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकाले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।