गुटबन्दी नगर्न ओलीको निर्देशन

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री एवं एमाले अध्यक्ष तथा केपी ओलीले पार्टीभित्र गुटबन्दी नगर्न र कसैलाई पनि त्यस्तो गर्न नदिन नयाँ केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । गुटबन्दी चर्किएकै कारण तत्कालीन नेकपा र एमाले विभाजित भएको संकेत गर्दै उनले पार्टी गुटबन्दी नगरी अनुशासनलाई कडाइका साथ पालना गरेर कार्यक्षेत्रमा खटिन आइतबार निर्देशन दिए । 

शुक्रबार मनोनीत उपाध्यक्ष गुरु बरालसहित १६ जना केन्द्रीय सदस्यका लागि आइतबार आयोजित शपथग्रहण समारोहमा ओलीले केन्द्रीय सदस्यहरूले नै अनुशासन पालना नगरी गलत विचार, अभ्यास र आचरण अँगालेर गुटबन्दी गर्दा पार्टी समाप्त हुन सक्ने भन्दै सचेत गराए ।

 ‘पार्टीहरू गलत विचार र बाटोका कारण सकिन्छन्, अर्को गलत अभ्यास, गलत आचरण, व्यवहारबाट सकिन्छन् । डेमोक्रेसीका नाममा जब पार्टीभित्र गुटबन्दी गरिन्छ, तब पार्टी उँभो लाग्दैन । संसारमा कुनै पार्टी गुटबन्दीले उँभो लागेको छैन,’ उनले भने, ‘स्थिर रहने, कायम रहने पार्टीहरूले गुटबन्दी गर्दैनन्, गुटबन्दी हुँदैन त्यहाँभित्र, गुटबन्दी सहँदैनन् । पार्टी ओारालो लाग्नु छ भने पार्टीले गुटबन्दीको बाटो समाउँछ । गुटबन्दीले बाटो समातेपछि समयमै नियन्त्रण गरेर पार्टीलाई पार्टीका रूपमा अगाडि बढाइएन भने पार्टी विभाजित हुन्छ । हाम्रो पार्टी विभाजित हुनुका पछि पनि त्यही थियो । लामो समयदेखि गुटबन्दी थियो ।’

अग्रगमनका लागि संविधान संशोधन
प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने बताए । संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोसिस भएको जनाउँदै उनले मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्ताबेज भएको प्रस्ट्याए ।

‘लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो,’ उनले भने, ‘संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन । हामीले कुनै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ । मानवकेन्द्रित मुद्दालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ ।’ 
 

सुझावित समाचार