धादिङबेँसी–खाल्टे खडक एक सातादेखि अवरुद्ध

आइतबार, २० साउन, २०८१
डिजिटल संस्करण

धादिङबेँसी–खाल्टे खडक विगत एक सातादेखि अवरुद्ध छ। वर्षातका कारण सडकमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक मर्मत नहुँदा एक सातादेखि सवारी आवागमन ठप्प बनेको हो।

धादिङको नीलकण्ठ नगरपालिका– १ हिलेखर्कमा सडक माथिबाट खसेको पहिरो नपन्छाउँदा दैनिक गुड्ने सार्वजनिक तथा निजी सवारी आवागमन ठप्प बनेको स्थानीय दिलबहादुर गुरुङले बताए। धादिङबेँसी–खाल्टे सडक खाल्टेको डाँडाबसाइ, गैरीबसाह, जमुने, फ्याक्सेलगायत साबिकको खाल्टे गाउँ विकास समितिका विभिन्न ठाउँलाई जिल्ला सदरमुकाम जोड्ने एक मात्र सडक हो।

‘अहिले सवारी आवागमन ठप्प बनेपछि तीन घण्टाभन्दा बढी समय लगाएर मानिस सदरमुकाम झर्ने गरेका छन्। सामाजिक सुरक्षा भत्ता, किनमेललगायतका काम लिएर स्थानीय ठूलो संख्यामा बजार झरिरहेका छन्,’ उनले भने, ‘खाद्यान्न सामग्री ढुवानी, कृषिजन्य उत्पादन बजार लैजान समस्या छ। सवारीले ढुवानी गर्ने सबै सामग्री ओसारपसार गर्न समस्या भएको छ। कसैले चासो नदिँदा हामी मारमा छौँ।’

वडा नम्बर १ का वडाध्यक्ष गणेश गुरुङ भने पहिरोका कारण अवरुद्ध सडक आज  आइतबार ४ बजेसम्ममा खुल्ने बताउँछन्। ‘हामी अहिले पनि त्यही काममा लागेका छौँ। सडक खुलाउन अहिले डोजर र एक्स्काभेटर लैजाँदै छौँ। आज ४ बजेसम्म सडक सञ्चालन हुन्छ,’ उनले भने।

सुझावित समाचार