एआई र राष्ट्रिय सुरक्षाको प्रश्न

आइतबार, २० साउन, २०८१
डिजिटल संस्करण

सरकारले नीति वा कूटनीतिको तुलनामा प्रविधिले तीव्र बजार प्रतिस्पर्धाको समयमा छिटो प्रगति गर्छ भन्ने बुझ्नुपर्छ

मानिसले सिर्जना गरेका उपकरणको व्यवस्थापन सजिलो छैन । सन् १९४० मा पहिलो परमाणु बम बन्दा त्यसका निर्माता वैज्ञानिकहरू बमले मानवतालाई खतरामा पार्न सक्ने चिन्तामा थिए । आणविक हतियार नियन्त्रणको चुनौती अद्यापि कायम छ । आज आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई धेरै वैज्ञानिकले रूपान्तरणकारी उपकरणका रूपमा हेर्छन् । विगतका ठूला प्रविधिझैँ एआईमा सकारात्मक र नकारात्मक दुवै सम्भावना छन् । क्यान्सर अनुसन्धानमा एआईले मिनेटमा धेरै मात्रामा अध्ययनको विश्लेषण गर्न सक्छ, जब कि यसका लागि मानिसलाई महिनौँ लाग्छ । 

एआईले आतंककारी गतिविधि फैलाउने र रोक्ने दुवै काम सहजतापूर्वक सम्पन्न गर्न सक्छ । खतरनाक भाइरस एक लाख डलरमै बनाउन सकिन्छ, तर त्यसविरुद्ध खोप विकास गर्न एक अर्ब डलरभन्दा बढी लाग्न सक्छ । यसमाथि उन्नत एआई यति बुद्धिमान हुन सक्छ कि यसले हामीलाई नै नियन्त्रण गर्न सक्छ भन्ने पनि भय छ । यस्ता सुपरइन्टेलिजेन्ट (अति वुद्धिमान) एआईको विकास अबका केही दशकभित्र भइसक्ने अनुमान छ । तथापि अहिलेलाई वर्तमान एआई प्रणालीको बढ्दो जोखिमबारे गम्भीर हुन आवश्यक छ ।

४० वर्षदेखि भूतपूर्व सरकारी अधिकारी, प्राज्ञ, व्यापारिक अगुवा र पत्रकारको समूह ‘एस्पेन स्ट्राटेजी ग्रुप’ले महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न वार्षिक रूपमा भेला गर्दै आएको छ । अघिल्लो छलफलमा आणविक हतियार, साइबर आक्रमण र चीनको उदयजस्ता विषय समेटिएका थिए । यस वर्ष भने राष्ट्रिय सुरक्षामा एआईको प्रभावमा ध्यान केन्द्रित गरिएको थियो, जहाँ एआईका फाइदा र सम्भावित खतरा दुवैको विश्लेषण गरिएको थियो ।

एआईले विशाल गुप्तचरी तथ्यांक विश्लेषण गर्ने, प्रारम्भिक चेतावनी प्रणाली बढाउने, बन्दोबस्ती पर्याप्त गर्ने र कोड निरीक्षण गरेर साइबर सुरक्षामा सुधार गर्नेजस्ता फाइदा गर्छ भन्ने विश्लेषण भएको थियो । यद्यपि यसले स्वचालित हतियारमा प्रगति, प्रोग्रामिङ त्रुटि र साइबर सुरक्षालाई कमजोर पार्ने जोखिम पनि खडा गर्छ भनेर चिन्ता व्यक्त गरिएको थियो ।

चीनले एआई हतियारमा ठूलो लगानी गरिरहेको छ र यसको संरचनात्मक लाभ पनि छन् । एआईका लागि मुख्य स्रोतमा प्रशिक्षण मोडेलका लागि तथ्यांक, एल्गोरिदम विकासका लागि दक्ष इन्जिनियर र कम्प्युटिङ जनशक्ति समावेश छ । चीनसँग तथ्यांकको पहुँचमा थोरै कानुनी वा गोपनीयतासँग सम्बन्धित सीमा छन्, तर चीनले उज्ज्वल युवा इन्जिनियरको राम्रो आपूर्ति गर्छ । तर, एआईको कम्प्युटिङ पावर उत्पादन गर्ने उन्नत माइक्रोचिपको पहुँचमा चीन अमेरिकाभन्दा निकै पछाडि छ । अमेरिकी निर्यात नियन्त्रणले उन्नत चिप्स र डच लिथोग्राफी मेसिनमा चीनको पहुँचलाई नियन्त्रित गरेको छ । एस्पेनका विज्ञले स्थिति अस्थिर भए पनि चीन अमेरिकाभन्दा करिब एक वा दुई वर्ष पछाडि रहेकामा सहमत भएका थिए । राष्ट्रपतिद्वय बाइडेन र सी जिनपिङ एआईमा छलफल गर्न सहमत भए पनि प्रभावकारी एआई हतियार नियन्त्रणको सम्भावनाबारे एस्पेनमा थोरै मात्र आशा थियो ।

स्वचालित हतियारमा महत्वपूर्ण खतरा छन् । राष्ट्रसंघीय कूटनीतिको एक दशकभन्दा बढी समय बितिसक्दा पनि घातक स्वचालित हतियारमाथि प्रतिबन्ध लगाउने कुनै सम्झौता हुन सकेको छैन । अन्तर्राष्ट्रिय मानवीय कानुनले सेनाले लडाकु र नागरिकबीचको भिन्नता देखाउने आदेश दिन्छ र पेन्टागनले परम्परागत रूपमै हतियारमाथि मानव निरीक्षण आवश्यक छ भन्ने मान्छ । यद्यपि आगमन क्षेप्यास्त्रविरुद्धको रक्षाजस्ता परिस्थितिमा मानव संलग्नताका लागि पर्याप्त समय नहुन सक्छ ।

हालको सन्दर्भमा स्वचालित हतियारले के गर्न मिल्छ वा मिल्दैन भनेर जनाउने कोडलाई सटिक रूपमा परिभाषित गर्नु मानिसका लागि महत्वपूर्ण छ । यो मुद्दा काल्पनिक होइन, उदाहरणका लागि युक्रेन युद्धमा रुसी सेनाले युक्रेनी संकेत जाम गर्ने भएकाले युक्रेनीलाई कहिले धाबा बोल्ने भन्नेबारे स्वचालित निर्णयका लागि उपकरणमा निर्भर हुन बाध्य बनायो ।

एआईको सबैभन्दा डरलाग्दा जोखिममध्ये एक जैविक युद्ध वा आतंकवादमा एआईको सम्भावित प्रयोग हो । सन् १९७२ मा सबै मुलुकले जैविक हतियार ‘आत्मघाती’ पनि हुन सक्ने जोखिमका कारण प्रभावकारी नभएको भन्दै प्रतिबन्ध लगाएका थिए । यद्यपि सिन्थेटिक जीवविज्ञानमा भएको प्रगति हेर्दा लक्षित जैविक हतियार सिर्जना सम्भव हुन सक्छ । यसबाहेक प्रयोगशालामा पहुँच भएका आतंककारीले अत्यधिक संक्रामक भाइरस विकास गर्न एआईको प्रयोग गर्न सक्छन् । स्मरण रहोस्, सन् १९९५ मा विश्वको प्रलय अवश्यम्भावी छ भनेर विश्वास गर्ने जापानको ‘अउम सिनिरिक्यो’ पन्थका मानिसले घातक जैविक सरिन ग्यास प्रयोग गरेका थिए ।

सन् १९६८ मा विश्वभरका मुलुकले परमाणु प्रविधिका लागि अप्रसार अभिसन्धि गरेका थिए र अहिले यसमा एक सय ९१ राष्ट्र सदस्य छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले घरेलु आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोगका लागि हो भनेर सुनिश्चित गर्न निरीक्षण गर्छ । शीतयुद्धका प्रतिद्वन्द्विताका बाबजुद प्रमुख आणविक राज्य सन् १९७८ मा संवेदनशील प्रविधिको निर्यात सीमित गर्न सहमत भएका थिए । यस उदाहरणले एआईका लागि केही मार्गदर्शन प्रदान गर्छ । यद्यपि यी दुई प्रविधिबीच उल्लेखनीय भिन्नता पनि छन् ।

नीति वा कूटनीतिको तुलनामा प्रविधिले तीव्र बजार प्रतिस्पर्धाको समयमा छिटो प्रगति गर्छ भन्ने तथ्य सर्वविदितै छ । यो वर्षको एस्पेन रणनीति समूहको बैठकको एक महत्वपूर्ण निचोड सरकारले आफ्ना पहलकदमीलाई तीव्र बनाउनुपर्छ भन्ने रहेको थियो ।

(नाई जुनियर हार्भर्ड केनेडी स्कुलका इमिरेट्स प्राध्यापक एवं पूर्वअमेरिकी सहायक रक्षामन्त्री हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट

 

सुझावित समाचार