‘एग्रो पुलिङ’मार्फत महानगरवासीको भान्सामा पुग्दै गुणस्तरीय खाद्यान्न

आइतबार, २० साउन, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले एग्रो पुलिङमार्फत महानगरवासीलाई गुणस्तरीय खाना (सेफ फुड) खुवाउन तयारी सुरु गरेको छ । काठमाडौंभित्र कृषियोग्य भूमि कम हुँदै गएपछि अन्य स्थानीय तहसँग सहकार्य गरी कृषि उत्पादन गर्ने र त्यस्ता उत्पादन परीक्षण गरेर मात्रै महानगरभित्र प्रवेश गर्ने गरी ‘एग्रो पुलिङ’ कार्यक्रम सुरु भएको हो । 

महानगरले तयारीस्वरूप चालू आर्थिक वर्षको बजेटमा यस कार्यक्रमका लागि डेढ करोड रुपैयाँ विनियोजन गरेको छ । कार्यक्रम लागू गर्न महानगरले कार्यविधिसमेत तयार गरेको छ । महानगरअन्तर्गत कृषि तथा पशुपक्षी विभाग प्रमुख नुरनिधि न्यौपानेका अनुसार यो कार्यक्रम कानुनतः सुरु भए पनि लागू गर्न भने केही समय लाग्नेछ । ‘कानुनतः १ साउनदेखि नै कार्यक्रम सुरु भइसक्यो । यद्यपि, यसलाई पूर्ण कार्यान्वयनमा लैजान केही समय लाग्छ,’ न्यौपानेले भने, ‘कार्यविधिअनुसार हामीसँग सहकार्य गर्न चाहने स्थानीय तहले आफूसँग जोडिएका किसानलाई सम्पर्क गराउने, फिल्डमा जाने, सूचना निकाल्ने, सहकार्य गर्नेलगायत थुप्रै काम बाँकी छन् । त्यसैले कानुनतः लागू भए पनि कार्यान्वयनमा लगेर महानगरवासीले गुणस्तरी उत्पादन उपभोग गर्न भने केही समय लाग्ने देखिन्छ ।’ महानगरले एग्रो पुलिङमार्फत गुणस्तरीय उत्पादन खुवाउन भन्दै गत आर्थिक वर्षदेखि तयारी थालेको थियो ।

एग्रो पुलिङका लागि एक करोड ६१ लाख विनियोजन 
महानगरले एग्रो पुलिङ कार्यक्रम लागू गर्न चालू आवको बजेटमै रकम व्यवस्था गरेको छ । एग्रो पुलिङ योजना लागू गर्न स्वर्णिम योजनाअन्तर्गत एग्रो पुलिङ परियोजनालाई एक करोड ६१ लाख विनियोजन गरेको छ ।

एग्रो पुलिङ परियोजनाअन्तर्गत प्रयोगशाला परीक्षण शुल्क, कामपा नाकाबाट भित्रिने खाद्यवस्तुहरू तथा कृषिजन्य उपभोग्य व्यवसायको डाटा संकलन, स्थलगत सम्भाव्यता अध्ययन अवलोकन, मौसमी तरकारीको बिउ वितरण कार्यक्रम, स्थानीय पालिकाको सिफारिसको आधारमा कृषि औजार तथा सामग्री वितरण कार्यक्रम, माटो बाली रोग किराको परीक्षण, पहिचान, व्यवस्थापन तथा प्रांगारिक तरिकाबाट उपचार, कृषि प्राविधिक भर्ना, कृषिविज्ञलगायतका लागि उक्त रकम विनियोजन भएको हो । महानगरले गुणस्तरीय उत्पादन खुवाउन गत वैशाखमै सूचना जारी गर्दै दुईजना कृषिविज्ञ माग गरेको थियो । एग्रो पुलिङअन्तर्गत रहेर काम गर्नका लागि गत आर्थिक वर्षमै एक करोड विनियोजन गरेको थियो ।

के हो एग्रो पुलिङ ?
एग्रो पुलिङअन्तर्गत महानगरले सुरक्षित उत्पादन (कृषि उत्पादन)का लागि अरू स्थानीय तहसँग समन्वयात्मक भूमिका खेल्नेछ । ‘हामी उत्पादनमा समन्वयात्मक भूमिका खेल्नेछौँ । हामीले छनोट गरेको स्थानीय तहलाई प्राविधिक सहयोग गर्छौं । उसले उत्पादन गरेको ठीक छ÷छैन, उत्पादन सही मूल्यमा बिक्री गरेको छ–छैन, उत्पादन विषादीरहित छ–छैन भनेर हेर्छाैं,’ न्यौपानेले भने । उनका अनुसार तरकारी उत्पादन हुने ठाउँ नभएको महानगरलाई जमिन बाँझो भएको स्थानीय तहसँग जोडेर विषादीरहित उत्पादन महानगरवासीको भान्छामा पुर्याउने अभियान एग्रो पुलिङ हो । एग्रो पुलिङमा सहभागी हुनका लागि महानगरले अन्य स्थानीय तहलाई सार्वजनिक सूचना जारी गरेर नै आह्वान गर्नेछ । सूचना जारी नगर्दै १० स्थानीय तहले यसमा चासोसमेत देखाएका छन् । ‘हामी आफैँ गएर तरकारी उत्पादन गर्न सम्भव छैन । आफैँले ल्याएर बेच्न पनि सम्भव छैन । सही रूपमा काम गर्न कार्यविधि तयार गरिसकेका छौँ । अब यस परियोजनामा जोडिन स्थानीय तहलाई आह्वान गर्छौं । त्यसपछि हाम्रा विज्ञले सम्बन्धित स्थानीय तहमा गएर सम्भाव्यता अध्ययन गर्नुहुन्छ र सोहीअनुसार अगाडि बढ्छौँ,’ उनले भने ।

सुझावित समाचार