उत्तरपूर्वी इंग्ल्यान्डको सन्डरल्यान्डमा शुक्रबार साँझ भएको हुलदंगामा अधिकारीहरूले गम्भीर र निरन्तर हिंसाको सामना गरेको प्रहरीले बताएको छ।
यस साताको सुरुमा भएको सामूहिक छुरा प्रहारको घटनालाई लिएर यो हुलदंगा भएको हो।
घन्टौँको हुलदंगापछि आठजनालाई पक्राउ गरिएको र तीन अधिकारीलाई उपचारका लागि अस्पताल लगिएको नर्थम्ब्रिया प्रहरी वरिष्ठ उपरिक्षक हेलेना ब्यारनले बताए।
बिबिसीले प्रसारण गरेको फुटेजमा सन्डरल्यान्डमको सिटी सेन्टरमा सयौँको भिडले प्रहरीमाथि आक्रमण गरेको र एउटा कार र प्रहरी कार्यालयको छेउमा रहेको भवनमा आगो लगाएको देखाइएको छ।
‘हामीले आज साँझ सन्डरल्यान्डमा देखेका स्तब्धकारी दृश्यहरू पूर्ण रूपमा अस्वीकार्य छन्,’ ब्यारनले भने, ‘अव्यवस्था, हिंसा र क्षति सहन गरिनेछैन। पक्राउ परेका आठजनाबाहेक अन्य संलग्न व्यक्तिहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ,’ उनले भने।
त्यहाँ भएका घटनाको जवाफमा आन्तरिकमन्त्री यभेट कुपरले दंगाकारीलाई कडा कारबाही गर्न सरकारको समर्थन रहेको बताए। ‘उनीहरूले बेलायतको प्रतिनिधित्व गर्दैनन्,’ कुपरले भने।
यसअघि, लिभरपुल सिटी सेन्टर र वरपरको अव्यवस्था र आपराधिक कार्य रोक्न अतिरिक्त अधिकारीहरू तैनाथ गरिएको मर्सिसाइड प्रहरीले बताएको थियो।
प्रधानमन्त्री किर स्टारमरले हिंसात्मक कार्यहरू गर्ने जोकोहीलाई कानुनको दायराभित्र ल्याउने वाचा गरेका छन्। (रासस /एएफपी)