शवसहित धर्नामा मिटरब्याजपीडित

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

धनुषाका मिटरब्याजपीडितले हत्या गरिएका भोगेन्द्र ठाकुरको शवसहित प्रदर्शन गरेका छन् । साहुकार शिवजी यादवको योजनामा ठाकुरको हत्या भएको भन्दै कारबाही माग गर्दै उनीहरूले बिहीबार जनकपुरधामका विभिन्न स्थानमा प्रदर्शन गरे । सयौँको संख्यामा मिटरब्याजपीडितले मंगलबारदेखि शव राखिएको ठाउँ जनकपुरधामको स्वर्गद्वारीमा धर्ना दिँदै आएका छन् ।

प्रहरीले हालसम्म पनि साहुकार यादवलाई पक्राउ गर्न नसकेको भन्दै मिटरब्याजपीडितले बिहीबार ट्र्याक्टरमा ठाकुरको शव राखेर रामचोक, जनकचोक, भानुचोक, रामानन्दचोक, मिल्स एरिया हुँदै मुख्यमन्त्री कार्यालयअगाडि पुग्ने प्रयास गरेका थिए । तर, प्रहरीले रोकेपछि शवसहित धर्ना दिएर सरकारविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए । 

गत सोमबार दिउँसो धनुषाधाम नगरपालिका– २, मंंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुर र उनकी श्रीमती श्यामुदेवी ठाकुर तथा छिमेकी सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियाबीच झगडा भएको थियो । झगडाका क्रममा मुखिया पक्षले कोदालो र फलामको डन्डीले प्रहार गर्दा भोगेन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । उनकी श्रीमती श्यामु गम्भीर घाइते भएकी थिइन् । श्यामुको शरीरमा ४७ वटा टाँका लागेको छ । अहिले उनको जनकपुरस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेका प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ठाकुर हत्याको आरोपमा सुर्जीदेवी, नागेश्वर र मुकेशलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता रञ्जन अवाले बताए । प्रहरीले भने किटानी जाहेरी दिएको खण्डमा सोहीअनुसार हत्याको अनुसन्धान अगाडि बढाउन बताउँदै आएको छ । तर, मिटरब्याजपीडितले भने पहिला साहुकार शिवजीलाई पक्राउ गरी घटना अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएका छन् । 

हाल फरार रहेका शिवजीसँग फरार रहेका छन् । मिटरब्याजीविरुद्धको संघर्ष समिति धनुषाका संयोजक दीपनारायण यादवका अनुसार ठाकुरले केही वर्षअघि शिवजी यादवसँग तीन लाख रुपैयाँ ऋण लिएका थिए । ऋण दिएबापत उनले ठाकुरको जग्गा आफ्नो नाउँमा नामसारी गराएका थिए । ठाकुरले ऋणबापत शिवजीलाई दुईपटक गरी नौ लाख रुपैयाँ बुझाएका पनि थिए । तर, उनले ठाकुरसँग ऋणबापत १२ लाख दिएपछि मात्रै जग्गा फिर्ता गरिने भन्दै आएका थिए । पछि ठाकुरले गत वैशाखमा शिवजीविरुद्ध अनुचित लेनदेनको जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा दिएका थिए । ठाकुरको जाहेरीको उनीविरुद्ध अनुचित लेनदेन मुद्दासमेत चलेको थियो ।

सुझावित समाचार