हमासका राजनीतिक प्रमुखको हत्यापछि मध्यपूर्वमा थप तनाव बढ्ने जाेखिम

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियेको हत्या भएको छ । मंगलबार इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानले शपथग्रहण लिने कार्यक्रम रहेको र सोही समारोहमा भाग लिन गएका उनको हत्या भएको हो ।

इरान र हमास दुवैले उनको हत्याको पुष्टि गरेका छन् । ‘हाम्रो आन्दोलनका प्रमुख इस्माइल हानिये इरानका नवनिर्वाचित राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएर तेहरानस्थित उनको आवासमा फर्किएपछि यहुदी समूहको आक्रमणमा मारिएका छन्,’ हमासले विज्ञप्ति जारी गर्दै आफ्ना नेताको मृत्युको जानकारी दिएको हो । हमासले सन् १९६३ मा गाजाको साती शरणार्थी शिविरमा जन्मेका हानियेको हत्याका लागि इजरायललाई दोष दिँदै बदला लिने चेतावनी दिएको छ । 

तथापि, हत्याको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । हत्याको आशंका इजरायलमाथि सोझिएको छ । इजरायली सेनाले हानियेको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन । इजरायलको शक्तिशाली गुप्तचर निकाय मोसादले विगतमा पनि प्यालेस्टाइनका लागि संघर्षरत नेताहरूको हत्या गर्ने गरेको इतिहास छ । उसले प्रायः हत्याको सार्वजनिक रूपमा जिम्मेवारी भने लिँदैन ।

सन् २०१७ मा हमासको राजनीतिक प्रमुख चुनिएका हानिये, त्यसको दुई वर्षपछि कतारको राजधानी दोहामा बस्न थालेका थिए । उनलाई कतारी सरकारले सुरक्षा दिएको विश्वास गरिन्थ्यो । मूल युद्धग्रस्त क्षेत्रबाट लामो समय टाढा रहेकाले हमासका लडाकुमाथि हानियेको पकड कमजोर हुँदै गएको चर्चा चल्न थालेको थियो । हमासबारे जानकारहरूका अनुसार पछिल्लो समय गाजा क्षेत्रका लागि हमासका प्रमुख याह्या सिन्वरको समूहका लडाकुमाथि बलियो पकड छ । उनले नै ७ अक्टोबरमा इजरायलभित्र भएको हमलाको योजना बनाएको विश्वास गरिन्छ । तथापि, बाँकी विश्वका लागि भने हानिये नै हमासको प्रमुख नेताका रूपमा हेरिने गरेका थिए । इजरायलसँगको पछिल्ला वार्ताका लागि सिन्वरभन्दा हानिये लचिलो रहेको मानिन्थ्यो । तुलनात्मक रूपमा नरम मानिएका उनको हत्यापछि युद्धविराम गर्न थप मुस्किल पर्ने विश्लेषण छ ।

सन् १९८७ मा प्यालेस्टाइनीविरुद्ध इजरायलको दमनविरुद्ध पहिलो ‘इन्तिफादा’ अर्थात् आन्दोलन उठेपछि शेख अहमद यासिनले हमास गठन भएको थियो । त्यो समय विश्वविद्यालयमा अध्ययनरत हानिये आन्दोलनमा होमिने क्रममा हमाससँग जोडिए । पछि हमासमा आबद्ध भएकै कारण उनी अनेकपटक इजरायलमा बन्दी पनि भए । यासिनसँगको निकटताका कारण उनकाे हमासमा छिटो–छिटो स्तराेन्नति भयो । हमासका संस्थापक शेख अहमद यासिनको सहयोगी हानिये सन् २००३ सम्ममा यासिनको विश्वासपात्र बनिसकेका थिए । यासिन जीवनको पछिल्लो समय ओछ्यानबाट उठ्न नसक्ने स्थितिमा पुगेका थिए र आँखा पनि राम्ररी देख्दैनथे । त्यो समय उनका प्रमुख सहयोगीका रूपमा हानियले सघाउँथे । सन् २००४ मा इजरायलले यासिनको हत्या गर्याे । 

यासिनको हत्या भएको एक वर्षपछि इजरायल सन् २००५ मा गाजाबाट बाहिरियो । इजरायलको बहिर्गमनपछि त्यहाँ हमासको पकड बलियो हुँदै गयो । सन् २००६ मा सम्पन्न प्यालेस्टिनी संसदीय चुनावमा हमासले गाजामा अत्यधिक बहुमतले जितेपछि हानिये प्यालेस्टिनी प्रधानमन्त्री बनेका थिए । तर, सन् २००७ मा गाजाको नियन्त्रणका लागि हमासले अर्को प्यालेस्टिनी समूह फताहलाई गाजा क्षेत्रमा प्रतिबन्धित गर्दा दुई प्रमुख प्यालेस्टिनी समूहबीच शत्रुता बढ्यो । त्यसपछि गाजामा हमासको एकछत्र शासन छ भने पश्चिम किनारामा फताह नेता मोहम्मुद अब्बासको शासन छ । पश्चिम किनाराका अब्बासलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छ ।

हानिये सन् २०१७ सम्म गाजा क्षेत्रका लागि हमास प्रमुख रहे । त्यसपछि बढुवा भएर उनी हमास प्रमुख भए । उनको पदोन्नतिपछि सिन्वरले उनको स्थान लिए, अर्थात् गाजा क्षेत्रको प्रमुखको जिम्मेवारी । हानियेको हत्याले मध्यपूर्वमा थप हिंसा चर्किन सक्ने त्रास बढेको छ । इरानले आफ्नो देशको पाहुना भएको वेला हानिये मारिएकाले यसले इरान र इजरायलको सम्बन्ध थप बिगार्न भूमिका खेल्नेछ । इजरायलले यसअघि नै हानियेका तीन छोरा हाजेम, आमिर र मोहम्मदको हत्या गरिसकेको छ । अप्रिल १० मा गाजामा उनीहरू सवार कारमा इजरायलले हवाई हमला गरेको थियो । सो आक्रमणमा उनका तीन नातिनी र एक नातिको पनि ज्यान गएको थियो । 

शुक्रबार कतारमा अन्त्येष्टि
हमासका राजनीतिक प्रमुख इस्माइल हानियेको शुक्रबार दोहामा अन्त्येष्टि गरिने उनीआबद्ध समूहले बुधबार जनाएको छ । हमासले जारी गरेको विज्ञप्तिमा हमासले हानियेको पार्थिव शरीरलाई सोही दिन कतारको राजधानी तेहरानमा औपचारिक र सार्वजनिक अन्त्येष्टि गरिने जनाएको छ । कतारको राजधानी दोहाको उत्तरमा रहेको लुसेलस्थित दोहाको सबैभन्दा ठूलो मस्जिद इमाम मोहम्मद बिन अब्दुल बहाबमा शुक्रबारको नमाजपछि अन्त्येष्टि गरिने बताइएको छ । हमासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘दोहामा आयोजित समारोहमा विभिन्न प्रभावशाली र लोकप्रिय अरब तथा इस्लामिक नेताहरूको सहभागितामा हुनेछ ।’

सुझावित समाचार