चिट चोर्न नदिएको भन्दै सरस्वती क्याम्पसका परीक्षा निरीक्षकमाथि हातपात

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

चिट चोर्न नदिएको भन्दै काठमाडौंको लैनचौरस्थित सरस्वती क्याम्पसका परीक्षा निरीक्षकमाथि विद्यार्थीले हातपात गरेका छन् । मंगलबार एमए तहको परीक्षा चलिरहेको वेला परीक्षार्थीबाट चिट फेला परेको र निरीक्षकले खोस्दा उनका साथी एवं सोही क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले हातपात गरेका हुन् ।

चिट चोरेको देखेपछि निरीक्षकले एक परीक्षार्थीको मोबाइल खोसेका थिए । आफ्ना साथीको मोबाइल खोसेको र परीक्षा हलमा समेत छिर्न नदिएको भन्दै अर्का विद्यार्थी किङ्गा शेर्पाले निरक्षिकमाथि झम्टिँदै हातपात गरेका हुन् । उक्त घटनाको सिसिटिभी फुटेजमा विद्यार्थीले हातपात गरेको स्पष्ट देखिन्छ । विद्यार्थीको कुटाई खाने निरीक्षक भीम सुवेदी हुन् भने कुट्ने विद्यार्थी शेर्पा अनेरास्ववियु नेता पनि हुन् ।

सुवेदीमाथि विद्यार्थीले हातपात गरेपछि अन्य शिक्षक आएर छुट्याएका थिए भने केहिबेर खैलाबैलानै मच्चियो । घटनाबारे थाहा पाएलगत्तै क्याम्पस प्रमुख गोलमान गुरुङ परीक्षा हलमा पुगेका थिए । उनले समेत अन्य परीक्षार्थीलाई अवरोध हुने भन्दै हातपात गर्ने विद्यार्थीमाथि कुनै कारबाही गरेनन् । क्याम्पस प्रशासनले हातपात गर्ने विद्यार्थीको नामसमेत लुकाएर उल्टै संरक्षण गरेको छ । 

परीक्षा चलिरहेका वेला कक्षाकोठामा तनाव उत्पन्न भयो भन्ने सूचनाका आधारमा प्रहरी वृत्त सोह्रखुट्टेको टोली क्याम्पस पुगेको थियो । तर, प्रहरीलाई पनि क्याम्पस प्रशासनले उक्त विद्यार्थीमाथि कारबाही नगर्न सल्लाह दिएको थियो । प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सत्यनारायण थापाका अनुसार प्रहरी पुग्दा माहोल शान्त भइसकेको थियो । त्यसपछि प्रहरी फर्किएको थियो । ‘हाम्रो टोली पुग्दा परीक्षा हल शान्त भइसकेको थियो, त्यसपछि प्रहरी फर्किएको हो, अन्य विवरण क्याम्पसले दिएन,’ उनले भने । परीक्षा सुरु भएसँगै नेविसंघ, क्रान्तिकारी, अनेरास्ववियुलगायत विद्यार्थी संगठनका नेता चिट चोर्न र चोराउन सक्रिय हुने भएपछि क्याम्पस प्रमुखले निरीक्षकहरूलाई निगरानी बढाउन निर्देशन दिएका थिए । सोमबार पनि चिट चोरेकै विषयमा विद्यार्थी र निरीक्षकहरूबीच क्याम्पसमा भनाभनसमेत भएको थियो । 

क्याम्पस प्रमुख तथा परीक्षा केन्द्राध्यक्ष गुरुङले मंगलबार भएको घटनापछि परीक्षा हलमा पुगेर विद्यार्थीलाई चिर्ट नचोर्न निर्देशन दिएर फर्किएका थिए । क्याम्पस प्रमुखले नै विद्यार्थीलाई संरक्षण गरेपछि विद्यार्थीको कुटाइ खाएका परीक्षा निरीक्षक सुवेदी आफूमाथि भएको हातपातको विषय लुकाउन बाध्य भएका छन् । उनी त्यहाँका अस्थायी शिक्षक हुन् । क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद अर्यालले उक्त घटनापछि क्याम्पस प्रमुख परीक्षा हलमा पुगेर परीक्षालाई थप मर्यादित बनाएको बताए । 
 

सुझावित समाचार