पेरिस ओलम्पिक : राष्ट्रिय कीर्तिमान बनाए पनि एलेक्जेन्डर बाहिरिए

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

पौडीबाज खेलाडी एलेक्जेन्डर शाह पेरिस ओलम्पिक २०२४ को १०० मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे पनि हिट चरणबाटै बाहिरिएका छन्।

फ्रान्समा एलेक्जेन्डरले ५१.९१ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन्। यसअघि उनकै नाममा ५२.१७ सेकेन्डको कीर्तिमान थियो। उनले सन् २०२४ को फेब्रुअरीमा दोहाको वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपमा सो कीर्तिमान बनाएका थिए।

हिट चरणमा आठ खेलाडी थिए। त्यसमा एलेक्जेन्डर तेस्रो भएका हुन्। उनले वाइल्ड कार्ड कोटामै पेरिस ओलम्पिक खेल्ने पक्का गरेका हुन्। उनले २०२० को टोकियो ओलम्पिक पनि खेलेका थिए।

यससँगै पेरिस ओलम्पिकमा सहभागी सातमध्ये ६ नेपाली खेलाडीको चुनौती समाप्त भएको छ। यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकबाट बाहिरिसकेका छन्।

अब, एथलेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ। उनी आजै त्यसतर्फ प्रस्थान गरेकी छिन्।

सुझावित समाचार