कमलविनायक–नगरकोट सडक विस्तार : दशपटक म्याद थप, अझै कति समय लाग्छ टुंगो छैन

एघार वर्षदेखि काम रोकिएको पनि छैन, सकिएको पनि छैन

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

सडकको लम्बाइ : कमलविनायक–नगरकोट (१६ किमि)
म्याद : १० पटकसम्म थप
ठेक्का सम्झौता : तीन वर्षमा सक्ने गरी ०७० मा 
निर्माण कम्पनी : एआइपिएल एससिसिपिएल जेभी
हालसम्म कामको प्रगति : ९८ प्रतिशत 
ठेक्का लागत : ३० करोड रुपैयाँ
खर्च : हालसम्म २७ करोड 
बाँकी काम : चार सय मिटर कालोपत्रे 
मर्मत गर्नुपर्ने सडक : पाँच किलोमिटर 

निर्माण कम्पनीका इन्जिनियर रमेश सुवेदी भन्छन्–९९ प्रतिशत काम गरिसकेका छौँ, तर सरकारबाट बजेट नै आएको छैन । ०८० साउनमा गरेको कामको भुक्तानी अझै भएको छैन, यदि भुक्तानी भयो भने मर्मतसम्भार गरेर केही महिनामै हस्तान्तरण गर्न सक्छौँ ।

एक दशक बित्दा पनि भक्तपुरको कमलविनायक–नगरकोट सडक विस्तार एवं कालोपत्रे अझै सकिएको छैन । ठेकेदार कम्पनीको ढिलासुस्तीले तीन वर्षमै सक्नुपर्ने कालोपत्रे ११ वर्षसम्म लम्बिएको हो । 

सडक डिभिजन कार्यालय भक्तपुरले उक्त कालोपत्रेका लागि ११ वर्षअघि एआइपिएल एससिसिपिएल जेभी निर्माण कम्पनीलाई ठेक्का लगाएको छ । असार ०७० देखि ठेकेदार कम्पनीले काम सुरु गरेको थियो । ठेकेदार कम्पनीले सडक विस्तार एवं स्तरोन्नति ९८ प्रतिशत सकिएको दाबी गर्दै आइरहेको छ । सोही अवस्थामा हस्तान्तरण गर्न खोजे पनि डिभिजन कार्यालयले आनाकानी गरिरहेको छ । कतिपय ठाउँमा पहिल्यै गरेको कालोपत्रे उप्किनसमेत थालिसकेको छ । 

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासिनीले यो सडक निर्माण ढिलासुस्तीमा ठेकेदार मात्रै जिम्मेवार भएको बताए । ‘ठेकेदार कम्पनीलाई ९५ प्रतिशत हाराहारी भुक्तानी भइसकेको छ । काम पनि सोही अनुपातमा भएको छ । काम नसकी हामी सडक स्विकार्दैनाैँ,’ उनले भने, ‘हामीलाई सडक हस्तान्तरण गर्ने वेला सबैतिर कालोपत्रे गरिएको हुनुपर्छ, खाल्डाखुल्डी परेको, कालोपत्रे भत्किएको, मापदण्डभित्र नभएको काम स्वीकार गर्दैनौँ ।’ उनका अनुसार एकातर्फ काम गर्दै गए पनि अर्कातर्फ सडक जीर्ण बनिसकेको छ । ठाउँ–ठाउँमा कालोपत्रे उप्किएको छ । 

सुरुमा गरेको कालोपत्रे फेरि गर्नुपर्ने अवस्था छ । मरासिनीका अनुसार एकपटक कालोपत्रे गरेको सडक कम्तीमा पाँच वर्ष टिक्छ, त्यसपछि मर्मत गर्नुपर्ने हुन्छ । कमलविनायक–नगरकोट सडकखण्डको भने काम नै सुरु भएको एक दशकभन्दा बढी भइसकेको छ । सो कारणले पनि आठ–नौ वर्षअघि कालोपत्रे गरेको ठाउँमा फेरि कालोपत्रे गर्नुपर्ने अवस्था छ । 

यो सडकमा सवारीसाधनको चाप बढी हुने भएकाले बिबिएसी अर्थात् डबल बेस सर्फेस ट्रिटमेन्ट शैलीमा कालोपत्रे ठेक्का लगाइएको थियो । यस प्रकारको कालोपत्रेमा दुई लेयर गिटी बिछ्याउने गरिन्छ । सोही कारण कालोपत्रे थप मजबुत मानिन्छ ।

चार सय मिटर सडक मात्रै कालोपत्रे बाँकी
हालसम्म भौतिक निर्माणका हिसाबले ९८ प्रतिशत काम सकिएको छ । तर, ठेकेदार कम्पनीले ठेक्का लम्ब्याउँदा सडक कालोपत्रे गरेको र नगरेको उस्तै देखिन्छ । अब नगरकोट बसपार्कदेखि अगाडिको चार सय मिटर सडक मात्रै कालोपत्रे गर्न बाँकी छ । बाँकी कामलाई पूर्णता दिन ठेकेदार कम्पनीले आनाकानी गरेको डिभिजन प्रमुख मरासिनीले जानकारी दिए । उनका अनुसार ३० करोड लागत ठेक्कामध्ये हालसम्मको काममा २७ करोड रकम खर्च भइसकेको छ । 

पाँच किमि सडक हस्तान्तरण नगर्दै बिग्रियो 
ठेकेदार कम्पनीले आठ वर्षअघि कमलविनायक–खरिपाटी क्षेत्रको पाँच किमि सडक कालोपत्रे गरेको थियो । तर, सो क्षेत्रमा सडक जीर्ण बनिसकेको छ । कालोपत्रे गरेको लामो समय भएकाले पनि सडक फेरि कालोपत्रे गर्नुपर्ने अवस्थामा छ । तर, ठेकेदार कम्पनीले एकपटक कालोपत्रे गरिसकेको स्थानमा फेरि नगर्ने बताउँदै आएको छ । डिभिजन कार्यालयले भने सबै सडकको अवस्था सन्तोषजनक नभई स्वीकार नगर्ने जनाएको छ । ‘ठेकेदार कम्पनीले समयमै काम नसक्नु हाम्रो दोष होइन, उसैको दोष हो, हामीलाई हस्तान्तरण गर्ने वेलामा सबै सडक चिटिक्क हुनुपर्छ,’ डिभिजन प्रमुख मरासिनीले भने, ‘दशपटकसम्म म्याद थप्नु लाजमर्दो कुरा हो ।’ दसौँपटक थपिएको म्यादसमेत आगामी असोजमा सकिँदै छ । 

See More On

सुझावित समाचार