नवलपुरमा नवलपुर प्रहरीले ७६९ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । धादिङबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले गाँजा बोक्न प्रयोग गरिएको एउटा भारतीय ट्रक, एउटा गाँजा कारोबारीले प्रयोग गरेको कार, अन्दाजी १०–१० किलोभन्दा बढीको ७२ पोका गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार धादिङबाट चितवन हुँदै नवलपुर ल्याएको अवस्थामा प्रहरीले गाँजासहित दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरीले गाँजासहित चिवतनको राप्ती नगरपालिका– २ निवासी ३३ वर्षीय मदन लामा र चितवनको राप्ती नगरपालिका– १ निवासी दिनेश भनिने सन्तोष लामालाई पक्राउ गरेको हो ।
प्रहरीले एनएल ०१ एन ५५४४ नम्बरको भारतीय नम्बर प्लेटको ठूलो कन्टेनरसहितको ट्रक र पक्राउ परेकाहरूले भाडामा लिएर प्रयोग गरेको प्रदेश ०१–०२६ च ५१५९ नम्बरको कार पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । उनीहरूलाई सोमबार नवलपुर जिल्ला अदालतमा पेस गरी तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । घटनामा अन्य पनि संलग्न रहेको आशंकामा प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
उनीहरूलाई आइतबार राति करिब २ बजेतिर इलाका प्रहरी कार्यालय रहजरको टोलीले रजहरको हमाल चोकबाट पक्राउ गरेको हो । चेकजाँचको क्रममा कन्टेनरको क्याबिनपट्टिको भित्ता शंकास्पद देखिएपछि क्याबिन काटेर चेकजाँच गर्दा कन्टेनरको क्याबिनतिरको भागमा अर्को बार अर्थात फल्स बटम बनाएर गाँजा लुकाएर ल्याएको भेटिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
पक्राउ परेका दुईजना गाँजा लुटेरा भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । ट्रकधनी सम्पर्कमा आएपछि मात्र यसबारे थप खुल्ने प्रहरीले जनाएको छ । उक्त कन्टेर बिहीबार दिउँसोदेखि चोरमारामा रहेको र मदन लामा र दिनेश लामाले कार लिएर मुग्लिङदेखि नारायणघाट, हेटौँडा र वीरगन्जसम्म उक्त कन्टेनर खोज्दै हिँडेको उनीहरूले प्रयोग गरेको कारको जिपिएसले देखाएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
उक्त गाँजा बोकेको कन्टेनरको वास्तविक चालक चोरमारामा छोडेर भागेपछि खोज्ने क्रममा उक्त गाँजा बोकेको कन्टेनर सन्तोष र मदनले लिएर चितवनतर्फ जाँदै गर्दा उनीहरूलाई प्रहरीले देवचुलीको हमाल चोकबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गर्दा कन्टेनर मदन लामाले चलाउँदै थिए भने कारका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
गाँजा कहाँबाट कसरी आयो र यसमा संलग्न व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ठूलो मात्रामा लागुऔषध फेला परेपछि यसमा ठूलै गिरोहकाे संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । उपरीक्षक रेग्मीका अनुसार कन्टेनरका वास्तविक चालक र कारका चालकको खोजी भइरहेको छ भने पक्राउ परेका दुईजनालाई नवलपुर जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।