भेनेजुएलाको राष्ट्रपति चुनावमा निकोलस मदुरो चौथो कार्यकालका लागि पुनः विजयी भएका छन् । देशको निर्वाचन परिषद्ले मदुरो विजयी भएको घोषणा गरेको हो । तर, विपक्षीले मत परिणाम अमान्य भएको जनाएको छ । पेरु, अमेरिकालगायत केही क्षेत्रीय मुलुकले पनि परिणाम अस्वीकार्य भएको बताएका छन् ।
पेरुले मत परिणामबारे परामर्शका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको निर्वाचन परिणामले भेनेजुएलाका मतदाताको इच्छालाई प्रतिबिम्बित नगरेको भन्दै मत परिणामप्रति अविश्वास प्रकट
गरेका छन् ।
मदुरोले ५१.२ प्रतिशत मत प्राप्त गरेका र विपक्षी गठबन्धनका उम्मेदवार एडमुन्डो गोन्जालेज उरुटियाले ४४.२ प्रतिशत मत प्राप्त गरेका परिषद्ले जनाएको छ । निर्वाचन परिषद्बाट मत परिणामको घोषणापछि राष्ट्रपति मदुरोले राष्ट्रपति भवनमा समर्थकलाई सम्बोधन गरेका छन् । उनले भने, ‘भेनेजुएला र विश्वका जनतासामु बोलिभारियाली गणतन्त्र भेनेजुएलाको पुनः निर्वाचित राष्ट्रपतिमा म निर्वाचित भएको छु । मेरो आगामी जिम्मेवारी देशमा शान्ति, स्थायित्व र न्यायका लागि हुनेछ । सबैले शान्ति र सुव्यवस्थाको सम्मान गरौँ ।’ तर, भेनेजुएलाको विपक्षी गठबन्धनले निर्वाचन परिषद् तथ्यांक (मत परिणाम) लाई अस्वीकार गर्दै आफूले ७० प्रतिशत मत प्राप्त गरेको दाबी गरेको छ ।
‘हामी भेनेजुएला र विश्व समुदायलाई भेनेजुएलाको नयाँ राष्ट्रपतिमा डमुन्डो गोन्जालेज उरुटिया निर्वाचित भएको जानकारी गराउन चाहन्छौँ,’ विपक्षी नेता मारिया कोरिना माचाडोले पत्रकार सम्मेलन गरी बताए । उनले चुनावमा आफ्नो दलले बृहत् समर्थनसहित निर्वाचित बनेको दाबी गरे । कोस्टारिकाका राष्ट्रपति रोड्रिगो चाभेजले नतिजालाई ‘कपटपूर्ण’ भन्दै निर्वाचनको आधिकारिकतामाथि प्रश्न उठाएका छन् भने चिलीका राष्ट्रपतिले परिणामलाई ‘विश्वास गर्न’ कठिन भनेका छन् ।