उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरूको मनोबल बढाउने गरी काम गर्नुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले अब बिजुली पुग्यो भन्ने ठाउँमा नेपाल नपुगेकाले ऊर्जा उत्पादनकलाई हौसला दिनुपर्ने बताएका हुन् ।
नेपालले बिजुली आयात र निर्यात दुवै गरिरहेको भन्दै प्रतिव्यक्ति विद्युत् खपत बढाउन अझ धेरै बिजुली आवश्यक भएकाले निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको मनोबाल बढ्ने गरी काम गर्ने प्रतिबद्धता उनले जनाएका हुन् ।
भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा ऊर्जा क्षेत्र यहाँसम्म आउनुमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको बताए । उनले साढे दुई दशकमा निजी क्षेत्रबाट हालसम्म २५ सय मेगावाटबराबरका एक सय ८२ आयोजना निर्माण भएको बताए ।
त्यस्तै, ३९ सय मेगावाटबराबरका एक सय ३७ आयोजना निर्माणाधीन र ३९ सय मेगावाटबराबरकै एक सय ३६ आयोजना नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको जानकारी दिए ।