अलोकप्रिय बन्दै छन् मदुरो

भेनेजुएलाको राष्ट्रपति निर्वाचनमा ११ वर्षदेखि सत्तामा रहेका मदुरो भारी मतान्तरले पराजय हुने प्रक्षेपण भइरहेको छ

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

आइतबार दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाका मतदाता राष्ट्रपति निर्वाचनमा सहभागी भए । ११ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति निकोलस मदुरोले यसपटक तेस्रो कार्यकालका लागि चुनाव लड्दै गर्दा हालसम्मकै ठूलो चुनौतीको सामना गरेका छन् । निर्वाचनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्ले निकै चासोका साथ हेरिरहेको छ ।

सन् २०१० को दशकको मध्यकालदेखि देशको मुख्य निर्यात पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेदेखि नै भेनेजुएलाको अर्थतन्त्र गम्भीर संकटमा पर्न सुरु भएको छ । आर्थिक संकटले मुद्रास्फीति आकासिएको छ । परिणामस्वरूप भेनेजुएलाका बहुसंख्या परिवारले आधारभूत आवश्यकतासमेत पूरा गर्न संघर्ष गर्नुपर्ने दिन आयो । मदुरोले उनको शासन अवधिभर उनका पूर्ववर्ती नेता ह्युगो चाभेजको जस्तो लोकप्रियता जुटाउन संघर्ष गर्नुपरेको छ । उनी सत्तामा आएलगत्तै देशको अर्थतन्त्र धराशायी बन्न पुग्यो, जुन अझै तंग्रिन सकेको छैन । दशौँ लाख नागरिक अवसरको खोजीमा देश छोडेर अन्यत्र पलायन हुन थाले । 

आर्थिक अवस्था कत्तिको दयनीय छ भन्ने कुराको सम्भवतः सबैभन्दा राम्रो सूचक हो, देश छोड्ने मानिसको संख्या । संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसिआर)का अनुसार, सन् २०१४ देखि यता ७७ लाखभन्दा बढी नागरिकले देश छोडिसकेका छन् । यो संख्या दोस्रो विश्वयुद्धपछि कुनै युद्धमा नफसकेको देशमा घटेको सबैभन्दा ठूलो पलायनको संख्या हो । करिब २००० मानिसले दैनिक देश छाडिरहेका छन् । 

मदुरोले आफ्नो शासनकालमा पूर्ववर्ती नेता ह्युगो चाभेजको जस्तो लोकप्रियता जुटाउन सकेनन् । उनी सत्तामा पुगेदेखि देशको अर्थतन्त्र धराशायी र डामाडोल बन्यो । दशौँ लाख नागरिक अवसरको खोजीमा पलायन भएका छन् । 

आलोचक मदुरो र उनका सहयोगीमाथि भ्रष्टाचार र आर्थिक कुव्यवस्थापनले संकटलाई बढाएको दोष लगाउने गर्छन् । त्यसबाहेक पहिलेदेखिको आर्थिक संकटमा ट्रम्पका शासनकालमा अमेरिकाले लगाएको प्रतिबन्ध – मानव अधिकार हनन र लोकतान्त्रिक ह्रासविरुद्ध) आर्थिक संकटलाई थप गहन बनाएको थियो । वासिङटन अफिस अन ल्याटिन अमेरिका नामक संस्थाको भेनेजुएला कार्यक्रम निर्देशक लौरा डिबका अनुसार भेनेजुएलामा न्यूनतम पारिश्रमिक प्रतिमहिना १३० अमेरिकी डलर छ, जब कि परिवारलाई तिनका आधारभूत आवश्यकता पूरा गर्न मात्र पनि ५०० डलरको आवश्यकता पर्छ । मानिस देशको गम्भीर आर्थिक अवस्थाबाट बाहिरिन चाहन्छन् र यसका लागि मदुरोलाई जिम्मेबार ठहराउँछन् । 

को हुन् मदुरोको प्रतिद्वन्द्वी गोन्जालेज ?
६१ वर्षीय मदुरो युनाइटेड सोसलिस्ट पार्टीको उम्मेदवारको रूपमा तेस्रो ६ वर्षे कार्यकालका लागि उठेका छन् । मदुरोको सामना गर्न कैयौँ प्रमुख विपक्षी दल मिलेर ‘युनिटरी प्लाटफर्म’ नामक गठबन्धन बनाएका छन् । गठबन्धनले मदुरोलाई पराजित गरेर सत्ताच्यूत गरेपछि पश्चिमसँगको सम्बन्ध सुधार्नु वाचा गरेका छन् । यसबाट पश्चिमी प्रतिबन्ध हट्ने र लगानी बढ्ने तिनको आशा छ । यसले भेनेजुएलाको अहिलेको अवस्थामा सुधार हुने गठबन्धनका दलहरूले आशा गरेका छन् । मदुरोको दमनकारी शासन हटेपछि डायस्पोराका सदस्यहरूको घर फिर्ति बढ्ने र त्योसँगै आर्थिक क्रियाकलाप वृद्धि हुने उनीहरूको तर्क छ । 

विपक्षी गठनबन्धनले ७४ वर्षीय पूर्वकूटनीतिज्ञ गोन्जालेजले मतपत्रमा प्रतिनिधित्व गरेका छन् । मदुरोले विपक्षीहरूलाई विदेशी शक्तिहरूको कठपुतलीको रूपमा चित्रण गर्दै उनीहरू शक्तिमा आए भने गरिबलाई आर्थिक सहयता दिँदै आएको सामाजिक कार्यक्रम निजीकरण हुने आरोप लगाएका छन् । गोन्जालेज खासमा विपक्षी गठबन्धनको पहिलो रोजाइका उम्मेदवार थिएनन् । वास्तवमा, उनी दोस्रो विकल्पमा समेत पनि थिएनन् ।

सरकारले पहिलो प्राथमिकतामा रहेकी लोकप्रिय विपक्षी नेता मारिया कोरिना मचाडोलाई चुनावमा प्रतिस्पर्धा गर्नबाट प्रतिबन्ध लगाएपछि मात्र गोन्जालेज चयन भएका हुन् । मचाडोलाई प्रतिस्पर्धामा प्रतिबन्ध लगाएपछि पनि उनको स्थानमा कोरिना योरिसको नाम पेस गरिएको थियो । योरिसले पनि प्रतिबन्ध व्यहोरेपछि गोन्जालेजको बाटो खुलेको हो । विपक्षी दलका कैयौँ नेताहरू झुटा मुद्दामा कैद छन् । मचाडोलाई पनि जनवरीमा देशको सर्वोच्च अदालतले १५ वर्षसम्म सार्वजनिक पदमा बस्न वा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मचाडो मादुरोलाई सत्ताच्यूत गर्ने प्रयासमा संलग्न रहेको र उनले भेनेजुएलाविरुद्ध अमेरिकाले लगाएको प्रतिबन्धहरूलाई प्रोत्साहन गरेकाले उनीविरुद्ध प्रतिबन्ध लगाइएको सरकारको तर्क छ । 

सहजै पद छाड्न मुस्किल
मतसर्वेक्षण र आममतदातामा देखिएको उत्साहबाट विपक्षीहरू जितका लागि आशावादी छन् । तर, मदुरोले हारको सामना गर्नुपर्यो भने सहजै सत्ता छाड्ने हुन् कि होइनन् भन्ने गहिरो चिन्ता छ । धेरैलाई डर छ कि मदुरोले आफैँलाई विजयको घोषणा गर्लान् वा सत्तामा टिक्न थप कठोर कदम चाल्लान् भन्ने डर छ । मदुरोले जुलाई १७ मा एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा आफ्नो जित नभए ‘गृहयुद्ध’ हुन सक्ने चेतावनी दिएका थिए । चुनाव भएको दिन र जित्ने पक्षले नयाँ सरकार गठनबीच ६ महिनाको अन्तराल तोकिएको छ । यो अवधि पनि निकै नाजुक हुनेछ । 

 सर्वेक्षणमा मदुरो धेरै पछाडि
निर्वाचन मतसर्वेक्षणले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेज मादुरोभन्दा झन्डै ४० अंकले अगाडि देखाइरहेको छ । पोलिङ फर्म ‘ओआरसी कन्सल्टोर्स’को सर्वेक्षणले १२.५ प्रतिशत मतदातामाझ मदुरोप्रति समर्थन देखाएको छ भने गोन्जालेजलाई विशाल ५९.६ प्रतिशतले समर्थन गरेको देखाएको छ । त्यस्तै, अन्य तथ्यांकसम्बन्धी फर्म डेल्फोस र एन्ड्रेस बेलो क्याथोलिक विश्वविद्यालयले मिलेर गरेको सर्वेक्षणले पनि गोन्जलेजप्रति लगभग उही हिस्साको समर्थन देखाएको छ । मदुरोप्रतिको समर्थनदर भने केही उच्च अर्थात् २५ प्रतिशत देखिँदा गोन्जालेजप्रति ५९ प्रतिशत समर्थन यस सर्वेक्षणले देखाएको छ । 

यी मतसर्वेक्षणको परिणाम हेर्दा मतदाता दशकौँदेखिको आर्थिक संकट र राजनीतिक दमनबाट बाहिरिन चाहेजस्तो देखिन्छ । तर, आलोचकहरूले भने चुनावमा मदुरोले हारे भने सजिलै सत्ता परित्याग गर्नेमा प्रश्न गरेका छन् । मदुरोमाथि पहिलेदेखि नै सत्ताको दुरुपयोग गरेर आफ्ना प्रतिद्वन्द्वी दबाएको, अन्धाधुन्द गिरफ्तार गरेको र मन नपरेकाहरूलाई चुनावमा उठ्न रोक्ने गरेको आरोप लाग्दै आएको छ । 
अल जजिराका लागि ब्रायन ओस्गुडको आलेख
 

See More On

सुझावित समाचार